दमक/ साहित्यकार तथा लेखक हर्कराज खेवाको कृति वाइजोमा आधारित रहेर सञ्चालन गरिएको वाइजो अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
प्रतियोगितामा ताप्लेजुङका कवि लक्ष्मीप्रसाद मादेन (लेकाली कान्छा मुकुम) प्रथम भएका छन् । उनको नयाँ साम्राज्य शीर्षकको कविता पहिलो हुँदै नगद २१ हजार रुपैयाँ राशीको सो पुरस्कार जितेको हो ।
त्यसैगरी दमक बहुमुखी क्याम्पसकी छात्रा प्रिती राना मगरको कविता बाटुली पो शहर जाने रे दोश्रो हुँदै नगद पुरस्कार १५ हजार रुपैयाँ जित्न सफल भएको हो भने संक्रान्तीका कवि सरोज विकको कविता तेस्रो, दिलिप सागर राई विनिता लिम्बु र राज आङदेम्बेका कविताहरु क्रमश तेस्रो र सान्तवना घोषित भए ।
प्रतियोगिताका निर्णायक समेत रहेका प्राज्ञ मुनाराज शेर्माले प्राज्ञ सुमित्रा वाङदेल चेलीको प्रमुख आतिथ्यमा शनिबार दमकमा आयोजित कार्यक्रममा वाइजो अनलाइन कविता वाचन प्रतियोगिताको नतिजा सार्वजनिक गरेका हुन् । सोही अवसरमा विजेता स्रष्टाहरुलाई पुरस्कृत गरिएको थियो ।
