कमल/ झापाको कमल–७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खैल मैदानमा दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

सृजनशील युवा क्लवले आयोजना गर्ने प्रतियोगिताका बारेमा आज (आइतवार) बिहान गेउरिया चोकमा पत्रकार सम्मेलन गरेर खेल तालिका, बजेट र तयारीका बारेमा जानकारी दिएको छ ।

यहि पुस २६ गते शनिबारदेखि माघ ३ गते शनिबारसम्म महिला फुटबल प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष निसान लामिछाने बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको तालिका टाइसिट सार्वजनिक गरिएको थियो । सो टाइसिटमा आयोजक संस्था सृजनशील युवा क्लबसहित भारत बाघडुग्राको जेपीएफसी, केचना फूटवल क्लव मोरङ पथरी, भद्रपुर झापा फूटवल क्लव, विराट मेघा स्पोर्टस विराटनगर, टाँडी स्पोर्टिङ क्लव मोरङ, पशुपति स्कूल वोमेन्स फूटवल काकरभिटटा, वेलवारी फूटवल क्लव मोरङ र आयोजकगरि ८ वटा टिमले भाग लिएका छन् ।

प्रतियोगिता अन्तर्गत उद्घाटन आयोजक सृजनशील युवा क्लव र विराट मेघा स्पोर्टस विराटनगरवीच खेल हुने पत्रकार सम्मेलनमा  आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले रु १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने दैनिक खेलमा उत्कृष्ठ हुने एक जना खेलाडप्विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ५ हजारसहित मेडल तथा ट्रफी र सर्वोत्कृष्ट एक जना खेलाडीलाई नगद रु १० हजारसहित मेडल तथा ट्रफी प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सफल बनाउन स्थानीय परिवर्तन युवा क्लव मुख्य प्रायोजक रहेको छ भने कमल गाउँपालिकाको कार्यालय, देश तथा विदेशमा बसोबास गर्नुहुने खेलप्रेमी तथा विभिन्न संघसंस्थाहरुबाट आर्थिक सहयोगबाट प्रतियोगिता सम्पन्न गरिने भएको हो ।

पत्रकार सम्मेलनमा क्लवका सल्लाहकारहरु रविन गुरुङ, सन्तोष राई, क्लवका सचिव विक्रम निरौलासहित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box