दमक/ झापाको कमल गाउँपालिका–५ स्थित सितापुरी उत्तरमा रहेको किराँतहरुको साकेला थानमा प्रतीकात्मक सुप्तुलुङ, माङ्पा सामा र बुम्छुतका छुट्टा छुट्टै प्रतिमा अनावरण गरिएको छ ।
ति प्रतिमाहरुको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औपचारिक कार्यक्रमका बीच अनावरण गरेका हुन् । अनारण सँगै ति प्रतिमाहरु किरात राई यायोक्खा झापा जिल्ला समितिलाई हस्तान्तरण समेत गरिएको छ ।
ति प्रतिमाहरु किरात राई यायोक्खा कमल गाउँ समितिले स्वदेश तथा विदेशमा रहेका किरातसम्बद्ध सहयोग दाताहरुको रकमबाट निर्माण गरेको हो ।
कार्यक्रममा ति सम्पदाहरु यायोक्खा कमलको तर्फबाट प्रतिमा निर्माण समितिका संयोजक भिमराज राईले यायोक्खा झापाका अध्यक्ष गणेश राईलाई हस्तान्तरण गरे । बनाएका सम्पदा संरचनाहरुको आवश्यक रेखदेख र सदुपयोग गर्ने राईले प्रतिबद्धता व्यक्त गरे । ति संरचनाहरु ८ लाख ६४ हजार रुपैयाँ बराबरको रकम खर्च गरी निर्माण सम्पन्न भएको यायोक्खा कमल गाउँ समिति सदस्य भिमराज राईले जानकारी गराए ।
प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष राईले साकेला थानको रक्षा र सम्पदा संरक्षणका लागि सबै किरात धर्मावलम्बीहरुले एकजुट भएर लाग्नुपर्ने बताउँदै यस्तो कार्यले नयाँ पुस्तामा सो समुदायको धर्म संस्कृतिका बारेमा अभिप्रेरणा जगाउने बताए ।
प्रथम किरात राजा यलम्बरले शुरु गरेको येले सम्वत ५०८६ नयाँ वर्ष तथा माघे संक्रान्तिको अवसरमा शुभकामना आदान प्रदान सहित गरिएको सो कार्यक्रममा स्थानीय किरात धर्मप्रेमी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कोशी प्रदेशका पूर्व सांसद अर्जुन राईले पनि शुभकामना मन्तव्य राखेका थिए ।
यायोक्खा कमल गाउँ समिति सदस्य भिमराज राईले प्रतिमा निर्माणका क्रममा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका थिए । यायोक्खा कमलका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार संयोजक सन्तोष राई र कार्यक्रम संचालन सदस्य चन्द्रप्रकाश राईले गरेका थिए ।