दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराएपछि लगातार तीन दिन सम्म आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने कार्यक्रम बनेको छ । यसअघि अध्यक्ष ओली आज मनोनयन सकेर काठमाडौं फर्किने बताइँदै आएको थियो ।
सोमबार दिउँसो आफ्नो क्षेत्र झापा ५ को दमकमा आइपुगेका ओलीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका र जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त दमकस्थित दमक नगरपालिका, इलाका प्रहरी कार्यालय दमक लगायतका भवन तथा संरचनाहरुको निरिक्षण गरेका छन् ।
उनलाई दमक नगर प्रमुख रामकुमार थापाले नगरपालिकामा भएको भौतिक संरचनाको क्षति र भइरहेको गतिबिधिबारे जानकारी गराएका छन् ।
आज अध्यक्ष ओलीले दमकका १० वटै वडामा रहेको पार्टी कमिटीका नेतृत्वलाई बोलाएर आवश्यक निर्देशन गर्ने र चुनाव केन्द्रित गतिबिधिमा लाग्ने बताइएको छ । एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार अध्यक्ष ओलीले बुधबार कमल गाउँपालिका र बिहिबार गौरादह र गौरीगञ्जका पार्टी कमिटी तथा अगुवा कार्यकर्ताहरुसँग अलग अलग संवाद गर्नेछन् । अध्यक्ष ओली माघ ९ गते काठमाडौं फर्किने कार्यक्रम बनेको छ । एमालेले आज मनोनयन दर्ता सकेपछि चुनाव प्रचार प्रसार कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ ।