दमक/ नेपाली कांग्रेस झापा क्षेत्र नं ५ र अन्तर्गतका सबै इकाई नेतृत्वले संयुक्त विज्ञप्ती निकालेर तत्कालिन दमक नगर सभापति प्रकाश प्रसाइँलाई पार्टी अनुशासनको कारवाही गरिएको जनाएका छन् ।
नेपाली कांग्रेस वडा, नगर, प्रदेश (ख) तथा प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं ५ झापाको संयुक्त बैठकले प्रतिनिधि सभा सदस्यका उम्मेदवारको मनोनयन मिति (माघ ६ ) देखिनै प्रसाईंलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको आज सार्वजनिक विज्ञप्तीमा उल्लेख छ। विज्ञप्ती अनुसार मिति २०८२ माघ ६ गते नेपाली कांग्रेस दमक नगर समितिका तत्कालीन सभापति प्रकाश प्रसाईंले पार्टी परित्याग गरी अर्को दलमा प्रवेश गरेपछि पार्टीको विधान र निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। सुशासन सहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानमा नेपाली कांग्रेस दृढ संकल्पित रहेको भन्दै दमक नगर कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गर्नेहरूप्रति कडा कारबाही गर्ने जनाएको छ ।
प्रेस विज्ञप्तीमा पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पारित “बलियो कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाएको छ।
लोकतान्त्रिक पार्टीको जीवनमा प्रवेश र बहिर्गमन स्वाभाविक प्रक्रिया भए पनि पार्टी हितविरुद्धका गतिविधिप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै विज्ञप्तीमा वडा तहदेखि क्षेत्रभरिका कार्यकर्तालाई भ्रामक, कपोलकल्पित तथा प्रतिगमनकारी गतिविधिबाट सजग रहन आग्रह गरिएको छ।
विज्ञप्तीमा वडा नं. ६ का वडा सभापति मणिकुमार बढाथोकी, कार्यवाहक नगर सभापति प्रेम भट्टराई, प्रदेश (ख) सभापति रवि केसी न्यौपाने तथा प्रतिनिधिसभा क्षेत्र नं. ५ झापाका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको हस्ताक्षर रहेको छ। 