झापा/ झापा जिल्लालाई देशभरकै सुगम जिल्लाको सूचीमा राखिन्छ । भौतिक पूर्वाधारलाई मात्रै बिकास मान्ने हो भने यो केही हद सम्म साँचो हो तर सिमित घेरामा बसेर हेर्दा ।
झापाको क्षेत्र नं ४ यो सुगम जिल्ला भित्रको दुर्गम क्षेत्रका रुपमा लिन सकिन्छ । निर्माणाधिन एशियन हाईवेदेखि दक्षिणमा ३० किलो मिटर सम्मको भुभाग यो क्षेत्रमा पर्छ । यसको दक्षिण सीमा भारतको बिहारसँग जोडिन्छ भने उत्तर सीमा चुरे सम्म । पश्चीममा कमल खोला र पूर्वमा बिरिङ खोला । खोलै खोलाबीचको यो भुगोलको अन्त्य पनि खोलासँगै जोडिएर हुन्छ ।
यति भने सकेपछि यहाँका नागरिकले पुस्तौदेखि खोलाकै कारण घरबार बिहिन भएर बस्नु परेको कुरा भनिरहन पर्दैन । यो भुगोलबाट जनताका प्रतिनिधि बनेर संसद सम्म पुगेका नेताहरुको सूचीमा पर्नु हुन्छ पूर्व मन्त्री स्वर्गीय चक्रप्रसाद बाँस्तोला, पूर्व मन्त्रीहरु राधाकृष्ण मैनाली, सीपि मैनाली , तारासम याङया, स्वर्गीय केशवकुमार बुढाथोकी देखि हालसालका एलपी साँवा । अधिकाशं यो क्षेत्रको माथिल्लो भेगबाट चुनिएका सांसदहरु मन्त्री पनि बने ।
कोही मन्त्री बन्ने दौडमा लागेर थाकिसके । तर यहाँका जनताको खोला नालाको पीर हटेको छैन । आखिर किन त ? नेतृत्वतकर्ताको जनताप्रतिको हेपाहा प्रवृत्ती, अनुुत्तरदायी व्यवहार र व्यक्तिगत स्वार्थ लिप्ततानै यसको वास्तविक उत्तर हो । यस्तै प्रवृत्तिसँग चुनावी मुकाबिला गर्ने साहस बटुलेर उभिएका छन गौरीगञ्ज १ माहाभाराका ३२ बर्षिय युवा उम्मेदवार सन्तोष तामाङ ।
सन्तोष र उनको सिंगो परिवार अनि गाउँ बस्ती यहाँका पुस्तौनी बाढी पीडित हुन् । कोक्रोमा खेल्ने उमेर छँदा सन्तोषलाई उनका आमा बुबाले कन्काईको भेल बाढीबाट जसोतसो जोगाएर निकाले । कहालिलाग्दो त्यो कन्काईको बाढीमा कैंयौं गाउँलेले ज्यान गुमाउँदा बाँचेका तिनै सन्तोष तामाङले भोगेको खोला बाढीको पीडालाई सधैका लागि अन्त्य गर्ने स्पष्ट योजना र खाका बनाएर उज्यालो नेपाल पार्टीका तर्फबाट संसदीय चुनावका लागि उम्मेदवार छन् । विसं २०५० सालमा माहाभाराको होक्कलबारीमा जन्मिएका तामाङले प्रारम्भिक तहको शिक्षा गाउँमै लिए पनि उनको परिवार र आफन्तहरुको साथ सहयोगमा काठमाडौंबाटै ७६प्रतिशत अंक ल्याएर २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।
Morgan International Collage हुँदै Accme Engineering Collage in Kathmandu बाट इन्जिनियरिङ पास गरेर विभिन्न कम्पनीमा आवद्ध भएर पेशामा जोडिए । उनले अध्ययनको सिलसिलामा देशको शासकीय संरचना, स्वरुप र देशको संविधान, कानुनबारे पनि बुझ्ने मौका पाएका छन् । उनको बुझाईमा नागरिकहरुप्रति उत्तरदायी जनप्रतिनिधि नहुँदा राज्यप्रतिनै उनीहरुमा विद्रोह भाव बढ्न पुगेको छ । त्यसैको उदाहरण हो भाद्र २३ र २४ को जेनजी आन्दोलन । जेनजी आन्दोलनमा व्यक्त जनभावलाई सम्बोधन गर्ने उनीसँग स्पष्ट खाका र योजना छ । कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीले झापाको यो दुर्गम क्षेत्रमा सन्तोषलाई दिएको उम्मेदवारीका अवसरलाई यहाँँका मतदाताले कसरी उपयोग गर्छन भन्ने हेर्न फागुन २१ सम्म कुर्नै पर्ने हुन्छ ।