दमक/ दमकस्थित झापा मोडल अंग्रेजी माविले दोस्रो संस्करणको संयुक्त राष्ट्र संघको नमुना अभ्यास सञ्चालन गरेको छ ।
दमक नगरपालिका सँगको सहकार्यमा बिद्यालयले फागुन १ देखि ३ गतेसम्म आयोजना गरेको सो कार्यक्रममा पूर्व क्षेत्रका ७ वटा विभिन्न विद्यालयबाट ११५ जना विद्यार्थी प्रतिनिधिहरू सहभागी छन् ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रमुख प्राध्यापक डा. गोविन्द गुरागाइँको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा वर्तमान विश्व परिवेशमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनले Model United Nation जस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धान क्षमता, तर्कशक्ति, कूटनीतिक संवादकला तथा समस्या समाधान गर्ने दक्षता अभिवृद्धि गर्ने धारणा व्यक्त गरे ।
विद्यालयका संस्थापक अध्यक्ष जयबहादुर श्रेष्ठले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै युवापुस्तामा विश्वस्तरको सोच, विश्लेषण क्षमता तथा नेतृत्व कौशल विकास गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न र सकारात्मक परिवर्तनका वाहक बन्न प्रेरित गर्ने बताए ।
विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले सहभागी सम्पूर्ण विद्यालय, प्रतिनिधि विद्यार्थी तथा अतिथिहरूलाई स्वागत गर्दै Model United Nation ले पूर्वाञ्चल क्षेत्रमा शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास व्यक्त गरे । भविष्यमा यस कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउने उनले प्रतिबद्धता जनाए ।
दमक नगरपालिका शिक्षा समिति संयोजक एवं वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराईको विशेष अतिथि रूपमा सहभागी भएर विद्यार्थीहरूलाई सक्रिय रूपमा भाग लिन र बहस तथा वार्ता मार्फत आत्मविश्वास विकास गर्न आग्रह गरे ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले कूटनीतिज्ञको भूमिका निर्वाह गर्दै विभिन्न देशको प्रतिनिधित्व गर्ने र वास्तविक विश्वका चुनौतीहरूमा छलफल गर्ने अवसर पाउने आयोजकको विश्वास छ । यसले सार्वजनिक बोल्ने क्षमता, अनुसन्धान, टोली कार्य र समस्या समाधान जस्ता सीप विकास गर्न मद्दत गर्दछ ।

कार्यक्रम अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय समिति गठन गरी विश्व शान्ति, जलवायु परिवर्तन, मानव अधिकार, विश्व अर्थतन्त्र लगायतका समसामयिक विषयहरूमा गहन छलफल गरिरहेका छन् । प्रतिनिधिहरूले विभिन्न देशको प्रतिनिधित्व गर्दै औपचारिक बहस, प्रस्ताव प्रस्तुति तथा कूटनीतिक वार्तामार्फत समाधान खोज्ने अभ्यास गरिरहेका छन्।् ।
तीन दिने यस शैक्षिक सम्मेलनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कूटनीति, नेतृत्व विकास तथा समसामयिक विश्व मुद्दाहरूमा गहन छलफल गर्ने सशक्त अवसर प्रदान गर्ने विश्वास लिइएको छ । कार्यक्रमले सहभागीहरूलाई विश्व राजनीतिका जटिल विषयहरू बुझ्ने, तर्कसंगत ढंगले प्रस्तुत गर्ने तथा सहकार्यमार्फत समाधान खोज्ने अभ्यासमा अघि बढाउने जनाइएको छ । यसबाट विद्यार्थीहरूले वास्तविक संयुक्त राष्ट्र समितिहरूको सिमुलेशन अनुभव गरी सहकार्यमा निर्णय लिन सिक्ने आयोजकहरूको विश्वास छ । त्यस्तै यस किसिमका कार्यक्रमहरूले युवा विद्यार्थीहरूमा नेतृत्व, कूटनीति, र आलोचनात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने छन् ।

 

Facebook Comments Box