दमक/
झापाको दमकस्थित शंखधर चोक नजिकै घर भाडामा लिएर करीब १८ महिना अघिदेखि सञ्चालनमा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेका बचतकर्ताहरुले आफ्नो पैसा फिर्ता पाउन सकेका छैनन् ।


सो सहकारी सञ्चालनमा आए यता बचत गरेका सर्वसाधारणले आफ्नो निक्षेप फिर्ता पाउन नसकेपछि अहिले हारगुहार गरिरहेका छन् । सो सहकारीका सञ्चालक समिति अध्यक्ष धिरज बुढाथोकीको निधन भईसकेको र व्यवस्थापकले मनोमानी रुपमा सहकारी सञ्चालन गरिआएका थिए ।
गौरीगञ्ज घर र गौरव राजवंशी नाम बताउने व्यवस्थापकको आधिकारिक परिचय थाहा हुन सकेको छैन । तर ३/ ४ दिन यता सो सहकारीमा दिनहुँ बचत फिर्ता लिने बचतकर्ताहरु जाने गरेका र कार्यालय बन्द अवस्थामा भेट्ने गरेका छन् ।
आफूहरुले यस अघि सहकारीका कलेक्टर चिनजानका भएका कारण बचत गर्ने गरेको , बचत रकम फिर्ता माग्दै पसलमै ल्याइदिने गरेकाले विश्वासमा परेर सहकारीका व्यवस्थापक , सञ्चालक कसैसंग सम्पर्क नगरी बचत गर्ने गरेकोमा तीन/÷ चार दिन यता कार्यालयनै नखुलेपछि आश्चर्यमा परेको बचतकर्ताहरुको भनाई छ ।
जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणी ओझा पछिल्लो समय दमकको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेका बचत कर्ताहरुको करीब एक करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको अवस्थामा कार्यालय बन्द रहेको पाइएको तर कोहि पनि पीडितहरु बचत फिर्ता पाउँ भन्दै कुनै पनि सरकारी तथा सहकारीका निकाय/संघ संस्थाहरुमा नपुगेको ओझाले बताउनु भयो ।
दमक नगरपालिकाको सहकारी विभागका प्रमुख इच्छाराम चौलागाइँले स्वर्गपुरी बचत तथा ऋण सहकारी दमकमा सञ्चालित भएपनि त्यसको नियमन, अनुगमन गर्ने जिम्मेवारी भित्र दमक नगरपालिका नपर्ने तर्क गर्नुभयो ।
उहाँले सो सहकारी दमक बाहिर समेत कार्यक्षेत्र भएको सहकारी हुनाले त्यसको नियमन प्रदेशबाट हुने भन्दै दमक नगरपालिका कोही बचत कर्ताहरुको बचत फिर्ता गराउने, ऋण असुल गरिदिने निकाय नभएको र पीडितहरु सम्बन्धित निकायमा जानुपर्ने तर्क गर्नुभयो । उहाँले प्रदेश सरकारले सो बिषयमा अनुगमन तथा नियमन गर्न स्थानीय सरकारलाई समेत सहभागी गराएको अवस्थामा मात्रै दमकले सहभागिता जनाउने बताउनु भयो ।
दमकमा केहि सहकारीहरु बार्षिक साधारण सभा , लेखा परीक्षण आदि केहि नगरी मिटर ब्याजमा लगाएका पैसाको कारोबारका लागि मात्रै सञ्चालनमा रहेका छन् । ति सहकारीहरुमा कारोबार गर्नु जोखिमपूर्ण रहेको सहकारीका जानकारहरु बताउँछन् ।

Facebook Comments Box