दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अन्य राजनीतिक दलहरुकै शैलीमा पूर्व क्षेत्रमा चुनावी दौडाह गरेका छन् । लामिछानेले मंगलबार झापाका विभिन्न ६ स्थानमा आयोजना गरिएका कार्यक्रमहरूमा सम्बोधन गरेका छन् ।
बिहानै ८ बजे झापा क्षेत्र नम्बर ३ को चन्द्रगढी (महेन्द्र पार्क दक्षिण क्षेत्र) बाट सुरु भएको उनको दौडाहा झापाका मुख्य बजार चोकहरू हुँदै दिउँसो करिब १ बजे इटहरी पुगेको थियो ।
उनी बिहान ८ः४५ मा काँकडभिट्टा र इटाभट्टा, ९ बजे धुलाबारी र चारआली, तथा ९ः३५ मा बिर्तामोड, चारपाने र लक्ष्मीपुर चोकमा पुगे ।
त्यसैगरी, बिहान १०ः२० मा सुरुङ्गा, दुधे र झिलझिले हुँदै करिब ११.३० बजे दमक आएका थिए । उनले दमकमा संक्षिप्त सम्बोधन गरेर पश्चीम तर्फ लागे ।
झापाका सबै निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारको उपस्थितीमा सम्बोधन गरेका लामिछानेसँग देश विदेशको ध्यान खिचेको झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र साह भने देखिएनन् । यसलाई रास्वपा भित्रै र यस क्षेत्रका मतदाता र विश्लेषकहरुले विभिन्न आशंका पनि व्यक्त गरेका छन् ।
झापाका कार्यक्रमहरू सकेर लामिछाने इटहरी पुगे । इटहरीमा आयोजना गरिएको कोशी प्रदेश लक्षित सभामा लामिछानेका साथ शाहले समेत सम्बोधन गरे ।

 

Facebook Comments Box