दमक/  कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको विद्यालय केन्द्रित एच.पि.भी. खोप कार्यक्रम अन्तर्गत ५२८ जना किशोरीहरु लाभान्वित भएका छन् । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान गाउँपालिकाका विभिन्न विद्यालयमा चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो ।

सो खोप लगाउने लक्षित किशोरीहरुको संख्या ५०३ रहेको अनुमान गरिएको भएता पनि ५२८ जना यो सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । बिद्यालय नजाने १० वर्षको किशोरी तथा गत वर्ष छुट भएका २६ जना किशोरिलाइ एच पि भि खोप लगाइएको थियो ।
कमल गाउपालिकाको सामुदायिक र संस्थागत ३३ विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरेर अन्तिम दिन सवै स्वास्थ्य सस्थामा खोप कार्यक्रम सञ्चालन भएको थियो । केही विद्यालयमा १–२ जना अनुपस्थित र स्वास्थ्य अवस्थाका कारण खोप नलिएको उल्लेख भएको छ ।
कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका किशोरीहरूलाई कमल गाउपालिकाको सम्पुर्ण विद्यालयमै पुगेर निःशुल्क खोप सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिए । खोप कार्यक्रम अघि अभिभावक तथा विद्यार्थीहरूलाई एच.पि.भी. संक्रमण, पाठेघरको मुखको क्यान्सरको जोखिम तथा खोपको महत्वबारे अभिमुखीकरण समेत गरिएको उनले बताए ।

दहालका अनुसार एच.पि.भी. भाइरसनै पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएकाले समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । उच्च सहभागिताको दरले समुदायमा स्वास्थ्य सचेतना र अभिभावकको सकारात्मक सहभागिता देखाएको भन्दै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले कार्यक्रमलाई सफल बनाउन विद्यालय प्रशासन, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकहरूको सक्रिय सहयोग प्रशंसनीय रहेको बताए । “आजको खोप, भोलिको सुरक्षा” भन्ने सन्देशका साथ सम्पन्न अभियानले कमल गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथाम अभियानलाई थप सशक्त बनाएको विश्वास गरिएको छ ।
तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको कार्यकालमा महिलाहरुलाई भबिष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरको जोखिमबाट हटाउन बिद्यालय उमेरका किशोरीहरुलाई देशैभर यो खोप लगाउने कार्यक्रम शुरु भएको थियो ।

Facebook Comments Box