झापा/ कोसी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचन सुरक्षाका लागि १२ हजार नेपाल प्रहरी, २३ हजार म्यादी प्रहरी र ८ हजारभन्दा बढी सशस्त्र प्रहरी गरी ३५ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।
प्रदेशभर रहेका ४ हजार २७० मतदान केन्द्र र ३५ लाख ७४ हजार २८६ मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले एकीकृत योजनाअनुसार काम सुरु गरिसकेका छन्। सुरक्षा समितिको बैठकले प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थानलाई अति संवेदनशील सूचीमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाएको छ।
कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार, सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखिएको छ। समग्र सुरक्षा अवस्था सन्तोषजनक रहेको र मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित भएको घिमिरेले बताए।
झापा-५ मा ‘हाई-प्रोफाइल’ सुरक्षा रणनीति
निर्वाचन सुरक्षा योजनाअन्तर्गत झापा-५ लाई भने विशेष ‘हाई-प्रोफाइल’ संवेदनशीलताको सूचीमा राखिएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार रहेको यस क्षेत्रमा प्रहरीले विशेष सतर्कता अपनाएको हो।
मनोनयनका क्रममा भएको झडपलाई आधार बनाएर प्रदेश प्रहरीले थप १०० जनाको विशेष टोली र प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा छुट्टै टोली परिचालन गरेको छ। डीआईजी घिमिरेले यस क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष रणनीति तयार गरिएको बताए।
यस पटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीको रूपमा लिएको छ। अफवाह र डिजिटल मुठभेड रोक्न प्रदेश र जिल्ला तहसम्मै ‘साइबर डेस्क’ स्थापना गरी सूक्ष्म निगरानी बढाइएको छ।
यस्तै, सङ्खुवासभा, सोलुखुम्बु र ताप्लेजुङ जस्ता हिमाली जिल्लामा हुन सक्ने हिमपात र सञ्चार अवरोधलाई ध्यानमा राख्दै स्याटलाइट फोन र दुर्गम क्षेत्रका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ। भारतसँगको ४२७ किलोमिटर र चीनसँगको २५८ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा कडा पार्दै सीमावर्ती जिल्लामा भारतीय सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्ती र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ।
१० जना पक्राउ
झापा-५ अन्तर्गत दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले १० जना पक्राउ गरेको छ। प्रहरीले सवारीसाधनमा राखिएका झन्डा, स्टिकर तथा चुनाव चिह्न अङ्कित सामग्री हटाइरहेको छ। दमकको मुख्य चोक, बजारलगायत विभिन्न स्थानमा सुरक्षाकर्मीले सवारीसाधनको जाँच कडाइका साथ सञ्चालन गर्दै आचारसंहिता विपरीतका गतिविधि रोक्न थालिएका जनाएको हो।
स्टिकर, झण्डा, पोस्टर तथा पम्प्लेट सवारीसाधनबाट हटाउन लगाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए। निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, शङ्कास्पद रूपमा हिँडडुल गर्ने १० जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।