दमक/झापा दमकका उद्योगी व्यवसायी नेता गोकूल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको यही चैतको अन्तिम साता हुने निर्वाचनमा केन्द्रिय कार्यकारिणी सदस्य पदका लागि चुनावी दौडाहामा व्यस्त छन् ।
महासंघको वर्तमान केन्द्रिय कार्यकारिणी सदस्यमा समेत लोकप्रिय मतसहित निर्वाचित रहेर सफल नेतृत्व गरेका श्रेष्ठ अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलबाट यसपटक पनि उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।
श्रेष्ठलाई दमक उद्योग वाणिज्य संघले केन्द्रिय सदस्यको उम्मेदवारका रुपमा प्रस्तुत गरेर देशव्यापी चुनावी दौडाहामा निस्किएको संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।

उम्मेदवारका रुपमा रहेका श्रेष्ठ आफ्नो टिमसहित यतिबेला पश्चीम नेपालका विभिन्न जिल्लामा रहेका वाणिज्य संघका नेतृत्व पक्तिंहरुसँग भेटघाट र अन्तरक्रियामा रहेका छन् । सो क्रममा सुर्खेत, दोलखा, तनहुँ, काँस्की, चितवन लगायत विभिन्न जिल्लामा उद्योग वाणिज्य संघका नेतृत्वकर्ता उद्योगी व्यवसायीहरुसँग साक्षात्कार गर्दै अनुभवन आदनप्रदानसहित निजी क्षेत्रका बिषयमा अन्तरसंवाद गरिएको अध्यक्ष गुरागाइँले जानकारी दिए ।
श्रेष्ठ यस अघि दमक उद्योग वाणिज्य संघको अध्यक्षका रुपमा समेत रहेर जिम्मेवारी निर्वाह गरेका व्यक्तित्व हुन् । व्यवसायीहरुमाझ देशैभर लोकप्रियता हासिल गरेर कुशल नेतृत्व दिएका श्रेष्ठको उम्मेदवारीलाई वाणिज्य संघका नेतृत्व पक्तिंले उत्साहपूर्ण समर्थन र ऐक्यबद्धता जनाइरहेका छन् ।
