दमक/ झापाको दमक ८ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । बाल मैत्री उन्मुख वडाको सूचक प्राप्तीको अनुगमन गरेको छ ।
जिल्ला स्तरीय अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको नेतृत्वमा अनुगमन टोलीले दमक ८ को जनता माध्यमिक विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रको अनुगमन गरेको हो ।
बरालको नेतृत्वमा जिल्ला समन्वय समितिको उपप्रमुख शान्ता रोक्का, जिल्ला समन्वय अधिकारी अधिकृत अमृत राई,जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि प्रहरी निरिक्षक विपन विश्वकर्मा, दमक नगर वाल सञ्जाल अध्यक्ष दिवस वाग्ले र वडा वाल सञ्जाल दमक ८अध्यक्ष दिलासा संग्रौला लगायतको अनुगमन टोलीले जनता विद्यालय र आधारभूत स्वास्थ्य केन्द्र दमक ८को अनुगमन गरेको दमक ८ वडा कार्यालयका सचिव सन्दिप सुवेदीले जानकारी दिए ।
अनुगमन टोलीले जनता विद्यालयको बाल कक्षाको अवस्था,खानेपानीको धारा,बाल कक्षाका विद्यार्थीलाई खुबाउने दिवा खाजाको वितरणका बारेमा जानकारी दिएको थियो ।
विद्यालयको शौचालयमा सरसफाईको अभाव रहेको र दुर्गन्ध फैलिएको अभिभावकहरुले समेत गुनासो गरेका थिए । विद्यालयमा रहेका एक कुचीकार (कर्मचारी) सरकारले कर्मचारी कटौती गरेपछि शौचालयको सरसफाईमा समस्या आएको विद्यालयका प्रशासनले जनाएको छ ।
सोही अनुगमन टोलीले दमक८कै आधारभूत स्वास्थ्य केन्द्रको पनि अनुगमन गरेको दमक ८ का वडा सदस्य तथा फोकल पर्सन हरिमाया चुँडालले बताइन् ।
आधारभूत स्वास्थ्य केन्द्रको अनुगमन गर्दा अपाङमैत्री भवन,खानेपानी धारा,बच्चालाई विश्राम गराउने कोक्रो आदि संरचना रहेको दमक ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल(दिपेश)ले बताए । वालबालिकालाई दिने खोप,अन्य सेवा सबै दिने गरिएको वडाध्यक्ष दाहालले बताए ।
बाल मैत्री वडाको अनुगमन गर्नु अघि दमक ८ कै वडा कार्यालयमा भएको बालमैत्री उन्मुख वडाको सूचक प्राप्तीको लागि अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति झापा समक्ष ९२ दशमलव २ प्रतिशत सूचक पुरा गरेको अभिलेख प्रस्तुत गरिएको बाल मैत्री अभियन्ता शेष कुमार निरौलाले सार्वजानिक गरे ।
नगरपालिकाका प्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख रोक्का, दमक ८को मनकामना टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपाने, जनता मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम भण्डारी, बन्धु विकास टोलका अध्यक्ष ओम खनाल लगायतले राखेको प्रश्नको दमक ८ का वडा अध्यक्ष दाहालले जवाफ दिएका थिए ।
बजेट निर्माण लगायतका वाल मैत्री सहभागिता सम्वन्धिको सकारात्मक अनुभव दमक नगर वाल सञ्जाल अध्यक्ष दिवस वाग्ले र वडा बाल सञ्जाल दमक ८ की अध्यक्ष दिलासा संग्रौलाले राखेकी थिइन् । नगर पालिकाको महिला वालवालिका शाखा प्रमुख सरिता भण्डारीेले सो अनुगमन टोलीको अनुगमन प्रतिवेदनलाई अध्ययन गरेर एक साता पछि दमक ८ को वडालाई बालमैत्री घोषणाको अन्तिम निधो लिइने जानकारी दिइन् ।

Facebook Comments Box