काठमाडौं/ बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ स्वदेश फर्किँदा पत्रकारहरुसंग कुराकानी गर्न रुचाएनन ।
जब प्रधानमन्त्री ओली दिल्ली पुगे तब नेपाली मिडिया र भारतीय मिडियामा सरकारको नेतृत्व परिवर्तनको बिषयले उच्च प्राथमिकता पायो । त्यसको प्रतिवाद ओलीले दिल्लीबाटै गरे ।
उनले भारतीय टिभीको एक च्यानलसंगको अन्तरवार्तामा ४/५ दिनमै प्रधानमन्त्री फेरिन सक्ने सम्मको संकेत गरे । यसबाहेक छिमेकी मुलुकमा समकक्षीको सपथग्रहण हुँदा निम्तो मान्न जाने स्वभाविक प्रकृयाका बिषयमा पनि केहि सञ्चारमाध्यमहरुले नकरात्मक कोणबाट विश्लेषण गरेका थिए ।
प्रधानमन्त्री ओलीको दिल्ली गमनकै समयमा पार्टीभित्र विशेष गरी प्रचण्ड, वामदेव गौतम लगायतका नेताहरुको हवाला दिदैं सरकारको नेतृत्व परिवर्तन हुने चर्चा भएकोमा प्रधानमन्त्री ओली निक्कै रुष्ट छन् । हुन त पार्टीभित्र अलग धार बनाएको भनिएका नेता माधवकुमार नेपालले तत्काल सरकारको नेतृत्व नबदलिने उद्घोष यहि बीचमा गरे ।
तरपनि प्रधानमन्त्री ओली र उनका समर्थकहरु सरकारको नेतृत्व परिवर्तनका बिषयमा सुन्न समेत मान्दैनन् । दुई पार्टीबीचको एकीकरणका समयमा भएको भनिएको प्रचण्ड–ओली सहमती पत्र यतिबेलै बाहिर आएकोमा रुष्ट भएकै कारण स्वदेश फर्कने क्रममा विमानस्थलमा प्रधानमन्त्री ओलीले सधैंजस्तो विशिष्ट कक्षमा पत्रकारहरुसंग बोल्न रुची नदेखाएका बुझिएको छ । ओली पत्रकारहरुले राखेको जिज्ञासाको वेवास्ता गर्दै सोझै बालुवाटारतर्फ लागेको बिषयले खैलाबैला मच्चाएको छ ।