दमक/ झापाको दमक १ स्थित रतुवा खोला नजिकै आसपासको बस्तीमा नकारात्मक असर पार्ने गरि अस्पतालबाट निस्किएको फोहोर फ्याँकिएको छ ।
दमकमा फोहोर व्यवस्थापन उचित रहेको रहेको दाबी भईरहेका बेला बजार क्षेत्रबाट झण्डै एक किलोमिटर मात्रै दुरीको बस्तीको वातावरणमा नकारात्मक असर पर्ने गरि अस्पतालबाट निस्किएको फोहोर जथभावी रुपमा फ्याँकिएको पाइएको हो ।
रतुवा किनार नजिकै एक व्यक्तिको शव अन्त्येष्टीका लागि मलामीका रुपमा गएका स्थानीयहरुले आज मात्रै त्यहाँ फ्ँयाकिएको अवस्थामा अस्पतालबाट निस्किएको फोहोर देखेको बताएका छन् ।
अस्पतालमा उत्पादित फोहोर आफैं नष्ट गर्ने इन्सिनेटर ( फोहोरलाई बन्द भाँडोमा जलाएर नष्ट गरिने प्रविधि) मार्फत व्यवस्थापन गर्नुपर्ने भएपनि दमकको आम्दा अस्पतालबाहेक कुनै पनि अस्पतालहरुले उत्पादित फोहोर आफैं नष्ट गर्ने त्यस्तो प्रविधिको व्यवस्था मिलाएका छैनन् । दमकमा लाइफलाइन अस्पताल आफैंले खरिद गरेको जग्गामा त्यस किसिमको फोहोर व्यवस्थापन गर्दै आएको र इन्सिनेटर खरिदको प्रकृया समेत चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

दमकमा आम्दा , लाइफलाइन, एड्भान्स, दमक हस्पिटल एण्ड रिसर्च सेन्टर , निम्स नेशनल हस्पिटल, नमस्ते पब्लिक हस्पिटल प्रालि सञ्चालनमा छन् । यसबाहेक कतिपय ठुला क्लिनिकहरुमा समेत अस्पतालकै ढाँचामा विरामीहरुको उपचार गर्ने गरिन्छ ।
नगरपालिकाले एक निजी कम्पनीसंगको साझेदारीमा नगरको बजार क्षेत्रमा उत्पादित फोहोर व्वस्थापन गर्दै आएको छ । तर सो कम्पनीले अस्पतालबाट उत्पादन हुने सबै किसिमका फोहोर व्यवस्थापनको जिम्मा भने लिएको छैन । उसले सामान्य किसिमका फोहोर सामाग्रीहरु लिने गर्छ अस्पतालमा जोखिमयुक्त फोहोर सामाग्री समेत हुने गरेका कारण निश्चीत प्रकृतिका फोहोर सामाग्री मात्रै उसको दायित्व भित्र पर्न आउने बताइएको छ ।