दमक/झापाको दमक नगरपालिका वडा नं ७ मा लामो समयदेखि बसोबास गर्दै आएका सर्वसाधारणलाई स्थानीय सरकारले बसोबास गरिरहेको जग्गा खाली गर्न गरेको उर्दीप्रति विप्लव नेतृत्वको नेकपाको झापा जिल्ला नेतृत्वले आपत्ति जनाएको छ ।

सो पार्टीका तर्फबाट जिल्ला सेक्रेटरी श्रीजंगले हस्ताक्षर गरेर आज जारी गरेको प्रेस विज्ञप्तीमा आफ्नो पार्टी विगतदेखिनै सर्वहारा सुकुम्बासीहरुको हक अधिकारका पक्षमा लड्दै आएको स्मरण गराउँदै निम्न वर्गीय परिवारको उठिबास लगाउने उद्धेश्यले सरकारले गरेको त्यस्तो आदेशको प्रतिवाद गर्ने उल्लेख छ ।
विज्ञप्तीमा दमक नगरपालिकामा विगतमा समेत त्यस किसिमका समस्याका बिषयमा आफ्नो पार्टीले सुकुम्बासीहरुको बसोबासको उचित बन्दोबस्ती मिलाएर समस्याका समाधान गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै पटक पटक त्यस्तो हर्कत नदोहोरयाउन पनि चेतावनी दिइएको छ । सो पार्टीले सुकुम्बासीहरुलाई जवरजस्त हटाउन खोजिए निर्ममतापूर्वक कडा प्रतिरोधमा उत्रिने समेत उल्लेख गरेको छ ।