सुनसरी : प्रदेश एकका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले कतिपय खेलकुद ऐन बनाउन ढिलाइ भएकाले सोचे जति काम गर्न नसकेको बताएका छन।
इटहरीमा बुधबारबाट सुरु भएको प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन्। मन्त्री घिमिरेले प्रदेश सरकारले बितेको एक वर्षमा खेल क्षेत्रमा अपेक्षा गरिए जति काम गर्न नसकिए पनि आगामी आर्थिक वर्षमा उल्लेख्य प्रगति हुने दाबी गरे।
प्रदेश सरकारले प्रदेश १ का १४ वटै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए। अहिले पनिखेलकुदलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभएको उल्लेख गर्दै मन्त्री घिमिरेले खेलकुदकै माध्यमबाट देश र समाजको पहिचान स्थापित हुन्छ भन्ने कुरा बुझाउन आग्रह पनि गरे।
प्रदेश एकका बिभिन्न जिल्लामा भैरहेका बिभिन्न खेलकुदका कार्यक्रमले खेलाडी उत्पादनमा योगदान पुर्‍याउने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे। कार्यक्रममा पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी, कोषाध्यक्ष गणेश बुढाथोकी, टेकप्रसाद कटेल लगायतले प्रदेश सरकारले खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे।
सोमबारसम्म चल्ने प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाका खेलाडीहरू सहभागी रहेको सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए।

Facebook Comments Box