दमक/  महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिक सम्बन्धि नयाँ विधेयक ल्याउन लागिएको बताउनु भएको छ ।
सामाजिक सुरक्षा भत्ता लगायतका बिषयहरुलाई व्यवस्थित गर्दै दर्ता गर्न लागिएको सो बिधेयकले दुई तिहाई सरकारको अनुभति गराउने मन्त्री गुरुङको जिकिर थियो ।
आज झापाको दमकमा दमक नगरपालिकाले आयोजना गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धिको अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले समाजकल्याण परिषद खारेज हुने भन्ने चर्चा गलत भएको पनि उल्लेख गर्नुभयो ।


उहाँले सामाजिक संघ संस्थाहरुको दर्ता, नियमन र सञ्चालनका बिषयमा पनि संघ संस्था दर्ता ऐन २०७६ ल्याइने बताउनु भयो । उहाँले संघ संस्थाहरुको संरचनागत परिवर्तन हुन सक्ने बताउँदै संघ संस्था खारेजीको बाहिरी चर्चामा सत्यता नरहेको बताउनु भयो । सो अवसरमा सहभागिहरुले राखेका जिज्ञासाको मन्त्री गुरुङले समाधान गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव चन्द्र घिमिरेले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन विशेष अवस्थाका महिला, बालबालिका, अपाङगता भएका नागरिकहरुका लागि विशेष सुविधा ल्याउने सरकारको नीति रहेको उल्लेख गर्नु भयो । उहाँले प्रदेश १ को ठुलो शहर धरानबाट सडक बालबालिकाहरुको उद्धार कार्य शुरु भइसकेको जनाउँदै दमक , विर्तामोड, इटहरी लगायतका शहरमा पनि यो कार्यक्रम सूचारु हुने र प्रदेश १ लाई सडक बालबालिकामुक्त प्रदेश बनाउने सरकारको अभियान रहेको जानकारी गराउनु भयो ।

सो अन्तर्गत हिजो धरानबाट २९ जना सडक बालबालिकाको उद्धार भएको र कार्यक्रममा जनाइयो । नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले नगरमा भईरहेका सामाजिक विकास अन्तर्गतका कामहरुका बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारीले दमक नगरपालिकाले अपाङगता भएकाहरुको पुर्नस्थापना केन्द्र, सडक बालबालिकाहरुका लागि छात्रावास निर्माण लगायतका महत्वपूर्ण योजनाहरु अघि सारेकाले संघीय सरकार र प्रदेश सरकारको सहयोग विना ति योजनाहरु पूरा हुन नसक्ने जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box