दमक/झापाको दमकका घडेरी व्यवसायीहरुले लामो समयदेखि जग्गाको कित्ताकाट फुकुवा नहुँदा समस्यामा परेको भन्दै तत्काल समस्या समाधानका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज दमक उद्योग वाणिज्य संघको आयोजनामा भएको अन्तरक्रियापछि व्यवसा यीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै सोबारेमा ध्यानाकर्षण गराएका हुन् । संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा संघका पूर्व अध्यक्षद्धय प्रकाश प्रसाइँ र घनेन्द्र सुब्बा, व्यवसायीहरु नविन अग्रवाल, रुद्र गौतम, नन्दी अधिकारी लगायतले धारणा राख्नु भएको थियो ।
अन्तरक्रियापछि नगरपालिका पुगेको टोलीले नगर प्रमुख रोमनाथ ओलीलाई ज्ञापन पत्र बुझाउँदै जग्गाको कित्ताकाटमा रहेको अवरोध सबै स्थानीय तहमा फुकुवा भएपनि दमकमा हुन नसकेको भन्दै तत्काल सहज बनाउन माग गरेको थियो । सो अवसरमा नगर प्रमुख ओलीले नगरपालिका सो सम्बन्धी निर्णय लिने तयारीमा रहेकाले व्यवसायीहरुको सुझावले त्यसलाई थप सहज बनाउने विश्वास व्यक्त गर्नुभएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो ।