विष्णु पौडेल

दमक/झापाको दमक ७ मा खोला अतिक्रमण गरेर सिद्धार्थ बोर्डिङ स्कूलले पक्की संरचना बनाएको पाइएको छ ।
दमकमा प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित सो बोर्डिङ स्कूलले बर्षौदेखि त्यहाँस्थित रातेहोली ( निरन्तर पानी बगिरहेको सानो खोला)आसपास र खोलामथिनै अतिक्रमण गरेर पक्की संरचना बनाएको पाइएको हो । बोर्डिङ स्कूलको ठिक अगाडी पनि सोही खोलामाथि अर्का एक व्यक्तिले पक्की संरचनासहितको घर बनाएको पाइएको छ ।


दमक नगरपालिकाले सर्वपक्षीय भनेको अनुगमन टोलीले नगर भित्र यस बर्ष सञ्चालित योजनाहरुको स्थलगत अवलोकन तथा निरिक्षण गर्ने क्रममा सो वडामा प्राकृतिक रुपमा बगिरहेको खोलाको भुभाग र खोलामाथिनै संरचना बनाएर प्रकृतिलाई चुनौती दिएको पाइएपछि अनुगमनकर्ताहरुनै आश्चर्यमा परेका थिए । सो क्षेत्रको नापजाँच पश्चात मात्रै विद्यालय र विद्यालयको अगाडी रहेको घरले के कति परिमाणको सार्वजनिक जग्गा अतिक्रमण गरेको हो भन्ने यकिन हुने नगरपालिकाले जनाएको छ ।
यद्यपी नगरपालिकाले यस अघि त्यहाँको संरचना हटाएर अतिक्रमित भुभाग खाली गर्न आवश्यक पत्राचार गरिसकेको जनाइएको छ । नगरपालिकाका इञ्जिनियर तीर्थनारायण श्रेष्ठले ति संरचना बनाइँदा नगरपालिकासंग आवश्यक अनुमति वा स्वीकृति नलिएको दाबी गर्नुभयो ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोलामाथिनै आफूखुशी घर बनाएर सार्वजनिक क्षेत्र अतिक्रमण गर्नु फटाइँ भएको अनुगमनका क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनु भयो ।

उहाँले नगरपालिका सबै अतिक्रमित क्षेत्रहरु खाली गराउने र सार्वजनिक जग्गा संरक्षण गर्ने काममा लागिपरेकाले अटेर गरेको अवस्थामा प्रकृया पुरयाएर नगरपालिकाले आफैं त्यस्ता संरचनाहरु भत्काउने र कानुन अनुसार त्यसवापतको क्षतिपूर्ति सम्बन्धित संस्था वा व्यक्तिसंग असूल उपर गर्ने पनि जनाउनु भयो । सो अनुगमनमा प्रदेश सांसद अर्जुन राई, नगर उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष भीमप्रसाद पौडेल लगायत जनप्रतिनिधिहरु, कर्मचारी र सञ्चारकर्मीहरु सहभागि थिए ।

दमक ७ मा सार्वजनिक जग्गा संरक्षणको प्रयास

देशैभर सार्वजनिक जग्गा अतिक्रमणको बिषय प्रमुखताका साथ उठिरहेका बेला दमकको वडा नं ७ मा ऐलानी जग्गाको संरक्षणका लागि वडाबाट केहि प्रयासहरु भएका उदाहरण पनि छन् ।

सो वडामा करिब १८ कठठ भन्दा बढी ऐलानी जग्गाको घेराबारा गरेर संरक्षणको काम गरिएको छ । वडाध्यक्ष भीमप्रसाद पौडेलले वडा नं १ मा पर्ने हाल नगपालिकाबाट निर्मित एकीकृत नमुना बस्ती नजिकै सीमामा वडा नं ७ भित्र थप नमुना बस्ती निर्माण गर्ने उद्धेश्यले तार घेरा गरि जग्गाको संरक्षण गरिएको बताउनु भयो ।
उहाँले आवश्यक बजेटको बन्दोबस्ती स्थानीय तहबाट नै गरेर सार्वजनिक जग्गाको संरक्षणमा स्थानीय सरकारले उदाहरणीय कदम चालेको दाबी गर्नुभयो ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीले वडा नं ७ मा संरक्षित सो जग्गामा विपन्नहरुका लागि थप घर निर्माण गर्ने प्रकृया अघि बढिसकेको बताउनु भयो । उहाँले सोका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट डेढ करोड रुपैयाँ विनियोजन भएको, प्रदेश सरकारले समेत बजेट विनियोजन गरेको र त्यसमा स्थानीय सरकारले समेत आवश्यक बजेटको बन्दोबस्ती गरेको बताउनु भयो ।

वडा नं ७ साविक दमकको १२ नम्बर वडा हो । यो वडामा २०५४ सालमा समेत वडाध्यक्ष निर्वाचित भएका हालका वडाध्यक्ष पौडेलले गोसलाइन एरियामा रहेको करिब ५ कठठ भन्दा बढी सरकारी जग्गामा पक्की पर्खाल बनाएर जग्गा अतिक्रमण हुनबाट रोकिएको बताउनु हुन्छ । उहाँले सो स्थानमा हाल सामान्य ढंगबाट बधशाला ( मासु काट्ने ठाउँ ) बनाइएको बताउनु भयो ।
यसलाई आधुनिक र व्यवस्थित बधशालाको रुपमा विकास गरी प्रयोगमा ल्याउन वडाध्यक्ष पौडेलले प्रदेश सांसद अर्जुन राई, नगर प्रमुख ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशाासकिय अधिकृत गणेश तिम्सिना लगायत सर्वपक्षीय अनुगमन टोलीको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नु भयो–धेरै ठाउँमा सार्वजनिक जग्गामाथि अतिक्रमण भएको छ तर यो वडामा संरक्षणको काम पनि गरिएको उदाहरण छन् । अब यो संरक्षित जग्गामा व्यवस्थित बधशाला बनाऔं । त्यहाँ आवश्यकता अनुसारको निर्णय लिइने नगर प्रमुख ओलीको संक्षिप्त प्रतिक्रिया छ ।

Facebook Comments Box