दमक/झापाको दमकमा आज शैक्षिक सरोकारवालाहरुसंग दमक नगरपालिकाको शिक्षा समितिले शैक्षिक बिषयमा अन्तरक्रिया गरेको छ । प्रदेश नं १ का सामाजिक विकास  मन्त्री जीवन घिमिरेको प्रमुख उपस्थितीमा शैक्षिक सरोकारवालाहरु, स्थानीय जनप्रतिनिधि, शिक्षा अधिकारीहरुबीच शैक्षिक गुणस्तर अभिबृद्धिसंगै सवै नागरिकहरुमा शिक्षाको पहुँच बढाउने बिषयमा अन्तरक्रिया गरिएको हो ।


नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको अन्तरक्रियामा शिक्षा समिति संयोजक समेत रहनु भएकी उपप्रमुख गीता अधिकारीले नगरमा अझै पनि आर्थिक विपन्नताका कारण बालबालिकाहरु नियमित विद्यालय नगईरहेको भन्दै उनीहरुको शैक्षिक अधिकार प्रदान गर्न राज्यको उपल्लो तहबाटै थप सहयोगका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नगरपालिकाले गत बर्ष सामुदायिक विद्यालयका एक सय विद्यार्थीलाई प्रदान गरेको साइकल शतप्रतिशत सदुपयोग हुन नसकेका कारण यस बर्ष छात्राहरुको शैक्षिक निरन्तरताका लागि छात्रावृत्ती उपलब्ध गराउने योजना रहेको बताउनु भयो । १६ बर्ष मुनिका कतिपय बालिकाहरु विभिन्न किसिमका हिंसाका कारण असुरक्षित रहेका कारण उनीहरुको संरक्षणका लागि नगरपालिकाले सेफ हाउस सञ्चालन गरिरहेको उहाँले जनाउनु भयो । सेफ हाउसमा हाल १६ जना बालिका तथा किशोरीहरु आश्रित रहेको उहाँले जानकारी गराउनु भयो । नगर भित्र कूल २१ वटा सामुदायिक विद्यालय रहेको र विद्यालय तथा विद्यालय बाहिर समेत गरेर ३९ वटा बालविकास केन्द्र सञ्चालमा रहेको पनि उपप्रमुख अधिकारीद्धारा प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।


अन्तरक्रियामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले नगरपालिका नगरको समग्र विकासका निमित्त १० बर्षे रणनीतिक योजना निर्माणमा रहेको र शिक्षालाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो । अन्तरक्रियामा दमकस्थित सामुदायिक तथा निजी कलेज, विद्यालय, विभिन्न शैक्षिक पेशागत तथा व्यवसायिक संघ संगठनहरुका प्रतिनिधिहरु समेत सहभागि छन् ।

 

Facebook Comments Box