दमक/ आज जेठ १९ । षडयन्त्रपूर्व पूर्व राजा वीरेन्द्र शाहको वंश नास गरिएको नेपालकै इतिहासमा कालो दिन । आज भन्दा १८ बर्ष अघि अर्थात २०५८ जेठ १९ गते राती नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो ।
त्यो घट्नाको यथार्थ रहस्य अझै बाहिर आउन सकेको छैन । विरेन्द्रको परिवारको वंश नासपछि राजगद्धीमा बसेका पूर्व राजा ज्ञानेन्द्र शाह अझै दरबार हत्याकाण्डको बिषयमा चुपचाप रहनुलाई आम नागरिकले रहस्यमयी भन्दै आएका छन् । दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि त्यसको पुष्टि गर्ने कुनै आधार अहिले सम्म सार्वजनिक भएको छैन । हत्याकाण्डको दिन दरबारमा रात्रीकालिन विशेष भोज रहेको पनि बाहिर आएको थियो । त्यो भोजमा पूर्व राजपरिवारका अन्य सदस्यहरु समेतको सहभागिता रहेको भन्ने चर्चा विस्तारै बाहिर आएपनि पूर्व राजपरिवार र सरकारी तवरबाट यसबारेमा कुनै जानकारी बाहिर नल्याइनुलाई आम नागरिकले शंकास्पद मानेका छन् ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा यति ठुलो हत्याकाण्डको रहस्य किन बाहिर आउँदैन ? आम नागरिकहरुले सोधिरहेका छन् ।
राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को त्यो अक्षम्य अपराधको क्षण अहिले पनि नेपालीले बिर्सेका छैनन् ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्रको समेत आयु छोट्यो । वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही ज्ञानेन्द्र तानाशाही बने जसका कारण नेपाली जनता शाही सत्ताको विरोधमा सडकमा निस्किए । कैंयौं नेपालीले ज्यानको आहुती दिएर मुलुकमा गणतन्त्र स्थापना गरे । दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो ।
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए ।