प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाको दमकमा आउनु भएको छ । भद्रपुरबाट विर्तामोड हुँदै उहाँ दमक आउनु भएको हो । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो ।

त्यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका छन् । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ , मन्त्रि बसन्त नेम्वाङ लगायत पनि सहभागी हुनुहुन्छ । दमक–४ मा कृष्णमन्दिर– बेलडाँगी सडक उद्घाटन गर्ने र त्यस लगत्तै दमक–३ र मोरङको मिक्लाजुङ जोड्ने स्थानमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यी दुवै योजनाको अघिल्लो पटक प्रधानमन्त्री हुँदा उहाँले शिलन्यास गर्नुभएको थियो । ति योजनाको उद्घाटन पछि दमक २ मा झापाबाट इलाम र पाँचथर जोड्ने दमक–चिसोपानी– रवि सडकको शिलन्यास गर्ने कार्यक्रम छ । शिलन्यास पछि दमक–२ को बेलडाँगीमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले दमक १ मा भूमिहीन सुकुम्बासीका लागि निर्माण भएको नमुनाबस्तीको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box