दमक/दुई दिनमा मोरङका विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मोरङ जहदा गाउँपालिका वडा नं ५ का ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाईकल दुर्घटनामा आज मृत्यु भएको हो ।
आज बिहान सवा ९ बजे जहदा स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३७ प ९७४३ नम्बरको मोटरसाईकल र बिपरित दिशबाट आउदै गरेको को १२ प ६२२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा को ३७ प का चालक बिरेन्द्र मण्डलको मृत्यु भएको हो । उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस अघि मोरङ रतुवामाई १ कल्याणपुरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई १ सोनापुरका २२ बर्षीय आबिद मिँयाको मृत्यु भएको थियो । हिजो राती साढे ९ बजे को२७प४६५०नम्बरको मोटरसाईकलका चालक मियाँको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को २ त २८०० नम्बरको ट्रयाक्टरमा ठोक्किएर दुर्घटना हुदा मोटरसाईकल चालक आबिद मिँयाको उपचारको क्रममा रंगेली अस्पतालमा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी मोरङ सुन्दरहरैचा–८ सलकपुर स्थित पुर्ब पश्चिम राजमार्गमा दुई वटा मोटरसाईकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार मध्यरातमा को ३७ प १७ नम्बरको मोटरसाईकल र को३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३७ प १७ नम्बरको मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ८ का २२ बर्षीय बिशाल खत्री र अर्का चालक सोही ठाउँका २३ बर्षीय अर्पण गुरागाईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।