दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले कोहि नागरिक सुकुमबासी भए सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिने बताउनु भएको छ ।
सरकारी तथा सार्वजनिक जमिन व्यक्तिको नाममा पार्ने प्रवृतिका विरुद्ध पहिलो पटक सरकारले कदम चालेको भन्दै उहाँले यसमा संलग्न कसैले पनि छुट नपाउने बताउनु भयो ।

आईतबार झापाको दमक देखि पाँचथरको रवी जोड्ने दमक चिसोपानी रवि सडक कालोपत्रे शिलन्यास पछि आयोजीत सभामा उनले यस अघि कुनै पनि सरकारले सरकारी तथा सार्वजनिक जमिन अतिक्रमण गर्ने विरुद्ध कार्वाही गर्न नसकेको र पहिलो पटक आफ्नो सरकारले काम थालेको दावि गर्नुभयो ।
सो क्रममा उहाँले आफ्नो सरकारले गरेका कामका केहि उदाहरण दिँदै विस्तृत विवरण संसद मार्फत सार्वजनिक भई सकेको पनि बताउनु भयो । संवोधनका क्रममा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई चारैतिरवाट कमजोर वनाउन षड्यन्त्र गरि रहेको भन्दै त्यस्ता चलखेल विरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको दावि गर्नुभयो ।
जब प्रम ओली भाबुक बने
आफ्नो संवोधनका क्रममा केहिबेर प्रधानमन्त्री ओली भावुक बन्नु भयो । आफ्नो स्वास्थ्य अवस्था बारे बोल्ने क्रममा आफु पटक पटक शरीर चिरेर पनि बाँचेको उहाँले बताउनु भयो ।
चार पटक सम्म आफ्नो शरीर चिरेको, मृगौला फेरेको लगायतका कारण आफुलाई रोगले च्यापे पनि आफु नथाक्ने र बरु शरीर भित्रै तार र व्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्ने उहाँले बताउनु भयो ।
पञ्चायत, तानाशाहा, राजतन्त्र लगायतका शक्तिसँगै अनेक रोगसँग समेत एकसाथ लड्दै आए पनि आफु नथाकेको र लड्नु पर्ने क्रम अझै नरोकिएको उहाँको भनाई थियो ।