दमक/ झापाको दमक ४ स्थित वशिष्ठ गुरुकुल विद्यापीठले स्थापनाको दशौं बार्षिकोत्सव मनाएको छ । आज गुरुकुल परिसरमा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा प्रदेश सांसद अर्जुन राईले हरेक जातजाती र भाषाभाषीको संरक्षणले मात्रै मुलुकको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेर बहादुर भट्टराई, सामाजिक व्यक्तित्व सुरेश सुब्बा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, साहित्यकार धनकुटे कान्छा लगायत सामाजिक , शैक्षिक व्यक्तित्वहरुको विशेष आतिथ्य रहेको थियो ।

विद्यापीठका सञ्चालक समिति अध्यक्ष राजेन्द्र भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा गुरुकुलका विद्यार्थीहरुका बीचमा वक्तृत्वकला लगायतका विभिन्न प्रतिभा प्रस्फुटन गराउने किसिमका रचनात्मक कृयाकलापहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा चन्द्रा खड्का भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।सोही अवसरमा सांसद राईले सो गुरुकुलमा सञ्चालित धार्मिक पुस्तकालयको पनि उद्घाटन गर्नुभएको थियो । त्यहाँ ४० जना विद्यार्थीहरुले संस्कृत भाषा अन्तर्गत विभिन्न धार्मिक ग्रन्थहरुको अध्ययन गर्दै आएका छन् ।