कमल/झापाको कमल गाउँपालिकास्थित कृषि शाखाले स्थानीय कृषि उपजहरुको प्रवद्र्धनका लागि आज कृषि प्रदर्शनी सम्पन्न गरेको छ ।


गाउँपालिका परिसरमा गरिएको प्रदर्शनीको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गर्नुभयो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष काफ्लेले गत आर्थिक बर्षमा गाउँपालिकाबाट वितरित कृषि अनुदान दुरुपयोग भएको गुनासो आएकाले चालू बर्षदेखि आवश्यक सुधार सहित कार्यक्रमहरु अघि बढाइएको जानकारी दिनु भयो ।


उहाँले गाउँपालिकाले कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिक खेती प्रवद्र्धन गर्न चक्लाबन्दी खेती प्रणाली अघि बढाइने बताउनु भयो । उहाँँले गाउँ गाउँमा त्यसको तयारी स्वरुप कृषक समुहहरु गठन गरेर अभ्यास थालिएको अध्यक्ष काफ्लेको भनाई थियो । कमल ३ का वडाध्यक्ष नर प्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका शेषराज पौडेलले पनि मन्तव्य राख्नु भएको थियो । प्रदर्शनीमा स्थानीय कृषकहरुले उत्पादन गरेका विशेष गरी तरकारी तथा तरकारीजन्य बस्तुहरु राखिएको कृषि शाखाका प्राविधिक प्रेम पोखरेलले जानकारी दिनु भयो ।

Facebook Comments Box