गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता जारी छ । वाल कल्याण माविको व्यवस्थापन र गाउँपालिकाको आयोजनमा भइरहेको प्रतियोगिता आज ( मंगलबार) सम्म चल्नेछ ।

आइतबारनै सो अन्तर्गत विभिन्न विधाका खेलहरु शुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार मात्रै गरिएको हो । खेलमैदानको अभावमा त्यहाँस्थित कमल बनियानी खोलाको किनार ( बालुबाडी) मा आयोजना गरिएको प्रतियोगिताको संविधानसभा सदस्य दिपक कार्कीले उदघाटन गर्नुभएको थियो । सो क्षेत्रका तत्कालिन सांसद समेत रहनु भएका कार्कीले आफ्नो कार्यकालमा सो वडामा शुरु भएको खेलमैदान निर्माण कार्यलाई पूर्णता दिन आवश्यक रहेको बताउँदै आफ्नो तर्फबाट सोका लागि प्रतिबद्धता जनाउनु भयो ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्माणाधिन खेलमैदानको जग्गामा केही कानुनी जटिलताका कारण पूर्णता दिन ढिलाई भइरहेको बताउनु भयो । उहाँले राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रियस्तरमा विजेता बनेर उपाधी जित्ने गाउँपालिका अन्तर्गतका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिकाले नगद ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, गौरीगञ्ज गाउँपालिका शिक्षा शाखा प्रमुख सुशिल दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा गौरीगंज गाउँपालिका भित्रका १२ वटा मावि स्तरिय सामुदायिक तथा संस्थागत विद्यालयहरूले भाग लिएका आयोजक समितिका सदस्य सचिव समेत रहनु भएका वाल कल्याण माविका प्रधानाध्यापक भीम प्रसाद कोइरालाले जानकारी दिनु भयो ।

प्रतियोगितामा भलिवल, कबडि, एथलेटिक्स अन्तर्गत हाईजम्प, लङ्जम्प, त्रिपलजम्पलगायत १५ वटा विधामा छात्र तथा छात्राहरूलाई सहभागी गराईएको छ । गौरीगञ्ज गाउँपालिकाको ससर्त अनुदानको १ लाख रूपैयाँ र गाउँपालिकाबाट दिईने २ लाख गरि जम्मा ३ लाख रूपैयाँको बजेटबाट सञ्चालित प्रतियोगिताको उद्घाटनमा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागि थिए ।
