दमक/ झापाको कमल ५ स्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाको प्रथम बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

संस्थाको सभाकक्षमा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्य र उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन कार्यक्रमका वक्ताहरुले मानवीय सेवामा समर्पित रेडक्रस र रेडक्रसकर्मीहरुले विभिन्न आपतकालिन परिस्थितीहरुमा पुरयाएको सहयोगको प्रशंसा गरेका थिए ।
मानिस सामाजिक प्राणी भएकाले पनि सामाजिक गतिबिधिहरुमा उत्कृष्टता हासिल गर्नुनै मानवीय जीवनको सार्थकता भएको पनि वक्ताहरुले उल्लेख गरे ।

सो अवसरमा गाउँपालिका अध्यक्ष काफ्लेले रेडक्रm लखनपुर उपशाखालाई स्वास्थ्य कार्यक्रम सञ्चालनमा सहजताका लागि गाउँपालिकाले यस बर्ष ३ लाख रुपैयाँ बजेट बन्दोबस्ती गरेको जानकारी गराउनु भयो । उहाँले भवनको माथिल्लो तला थपका लागि समेत आवश्यक बजेटका बिषयमा पहल गर्न रेडक्रसका नेतृत्वकर्ताहरुलाई सुझाव दिनु भयो । रेडक्रस सोसाइटी प्रदेश नं १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले लखनपुर रेडक्रसले जिल्लामनै उत्कृष्ट कामहरु गर्दै आएको मुल्याङकन रहेको बताउनु भयो । उहाँले सिमित साधन स्रोतका बाबजुद लखनपुर रेडक्रसले निर्वाह गर्दै आएको भुमिकाको प्रशंसा गर्नुभयो ।
सोसाइटीका उपशाखा सल्लाहकार पूर्णानन्द शर्माले सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्थाहरुमा स्वयमसेवाको भावना लिएर मात्रै काम गर्न सकिने बताउनु भयो ।
सभामा अध्यक्ष साहले पेश गर्नुभएको प्रतिवेदन सुझावसहित पारित गरिएको उपशाखाका सचिव पारसमणी राईले जानकारी दिनु भयो ।