गौरीगञ्ज/कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ६ स्थित भारु चोकमा आजदेखि सहायता कक्ष स्थापना गरिएको छ ।
खुल्ला सीमाना भएका कारण भारत नेपाल आवतजावतका क्रममा संक्रमण नेपालमा भित्रिने जोखिम बढेको कारण सीमामा त्यस्तो चेकजाँच शुरु गरिएको हो । त्यहाँ वडाका जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय गौरीगञ्ज, सशस्त्र प्रहरी लगायतको उपस्थितीमा स्वास्थ्यकर्मीहरुको टोलीले परीक्षण शुरु गरेको वडाध्यक्ष बद्रीनारायण यादवले जानकारी दिनु भयो । कक्षमा कोरोना भाईरसको जोखिमबाट बच्न अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना फैलाउन र सतर्क रहने उपायहरूका बारेमा सहजिकरण गरिनेछ ।

सहायता कक्षमा स्वास्थ्यकर्मी र प्र्रहरीसहित ३ जनाको टोली नियमित रहनेछ । टेन्ट टांगेर स्थापना गरिएको सहायता कक्षमा हाते धुन साबुन पानी, ग्लोब्स, मास्क र जनचेतना फैलाउने सन्देशमुलक पर्चालगायतका सामग्री राखिएका छन् ।
गौरीगंज गाउँपालिकाको फत्तेपुर नाका हुँदै दैनिकरूपमा भारतीयहरू नेपाली बजार गौरीगंज, गौरादह र दमकसम्म आउने गरेको र नेपालीहरू पनि भारतीय बजार फत्तेपुर, किसनगंज, टेढागाछ र कल्यागंज जाने गरेकाले सोहि स्थानमा सहायता कक्ष स्थापना गरिएको वडाध्यक्ष यादवले बताए । यस अघि काँकरभिट्टामा त्यस्तो परीक्षणका लागि डेक्स स्थापना भईसकेको छ ।