दमक/ चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण ५० देशमा फैलिएको छ ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ ।

यस्तै ७९ हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ ।
कोरोना भाइरस फैलिएपछि जापान र इराकले सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन् । जापानले कोरोनाका कारण संकटकाल लगाउने विधेयक संसदबाट पारित गरिसकेको छ ।
साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।
यस्तै अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।
यसैबीच उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो सङ्क्रमित भेटिएको छ । नाइजेरियामा कोरोना सङ्क्रमित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ ।

Facebook Comments Box