मोरङको इटहरामा आमा गंगाकुमारी लुइँटेल र बुबा स्व.डिल्ली प्रसाद लुइँटेलका ६ छोरा मध्ये कान्छो सन्तानका रुपमा जन्मिएका गुणरजा लुइँटेलको पारिवारिक पृष्ठभुमी गाउँको खेती नै हो । बुबा ज्योतिष विधाको जानकार भएपनि परिवारको मुख्य आयस्रोत भनेको खेती नै थियो ।
२०४४ सालमा इटहरास्थित सरस्वती माविबाट एसएलसी उत्तिर्ण गरेका उनका बुबा डिल्ली प्रसादको निधन उत्तिबेलै भयो । बुबाको निधनपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं हानिएका लुइँटेलले अध्ययनसंगै पत्रकारिताको अभ्यास गर्ने मौका पाए । त्यसो त दाजु घमराज लुइँटेल उ बेला पनि रेडियो पत्रकारितामा नाम चलेका व्यक्ति हुनुहुन्थ्यो ।
काठमाडौंमा रहँदा लुइँटेलले उच्च शिक्षा अध्ययन संगसंगै विभिन्न सञ्चार माध्यमहरुमा पत्रकारिताको अनुभव पनि सम्हाले । पत्रकारितामा बिए, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं बिएलको अध्ययन गरेका लुइँटेल सामाजिक अभियानता, साहित्यकार, तथा आईटी विशेषज्ञ समेत हुन् । उनी अहिले अमेरिकाको होमल्याण्ड सेक्युरिटीका लागि वरिष्ठ सूचना तथा प्रविधि विशेषज्ञको रुपमा समेत कार्यरत छन् ।
रेडियो सगरमाथा, दैनिक समाज, डेली डायरी दैनिक, संरचना साप्ताहिक, पिपुल्स रिभ्यू साप्ताहिक, महिमा साप्ताहिक, प्रजातन्त्र साप्ताहिक, द कमनर दैनिक, कान्तिपुर दैनिक, लोकपत्र दैनिक, स्पन्धन मासिक, रेडियो नेपाल लगायतमा पत्रकारिताको अनुभव संगालेका लुइँटेल पत्रकारिताकै ट्रेनिङको सिलसिलामा १८ बर्ष अघि अर्थात सन् २००२ मा अमेरिका हानिएका हुन् ।
अहिले नेपाली अमेरिकी डायस्पोराको क्षेत्रमा लुइँटेलको नाम अग्रपंक्तिमा आउँछ । अमेरिकामा समेत बसेर पत्रकारिताको अनुभव लिएका लुइँटेल नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईन्जा)का केन्द्रीय अध्यक्ष समेत हुन् । नेपालमा रहँदा को पत्रकारिताको अनुभवले उनलाई अहिले पनि यहाँको पत्रकारितामा केही गरौं जस्तो लाग्छ । त्यसैले उनी अहिले विभिन्न देशका पत्रकारहरुलाई समेटेर एक दीगो र बलियो संचार संजाल निर्माणको अभियानमा छन ।
साहित्य लेखन र समालोचनामा पनि कलम चलाएका उनको “जलेको मन” नामक कविता संग्रह प्रकाशित छ । अन्तरराष्ट्रिय साहित्य समाजबाट प्रकाशित डायस्पोराका कथा, कविताहरु लगायतका पुस्तकहरुको सम्पादन पनि उनले गरेका छन ।
साथै सन २००७ सालमा अमेरिकामै स्थापित अमेरिका नेपाल पत्रकार संघ (नेजा) को संस्थापक कोषाध्यक्ष समेत रहेका उनी अमेरिका बसाइकै क्रममा नेजाको बरिष्ठ उपाध्यक्ष समेत बने । उनकै पहल र अध्यक्षतामा सन २०१७ मा अमेरिकाको राजधानी वासिङटन डिसीमा अन्तरााष्ट्रिय नेपाली पत्रकार सञ्जाल (ईन्जा) नामक अन्तराष्ट्रिय संस्था गठन भएको हो । हाल सो संस्थाको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका लुइँटेल हाल अमेरिकाबाट संचालित इनेप्लिज पत्रिकाका सल्लाहकार सम्पादक रही सामुदायिक पत्रकारिता गरिरहेका छन् ।
नेपाल आएपछि विभिन्न सामाजिक तथा सञ्चार क्षेत्रसंगको भेटघाट र अन्तरक्रियामा व्यस्त रहेका लुइँटेलसंग निष्कर्ष न्यूजका लागि कार्यकारी सम्पादक विष्णु पौडेलले गरेको कुराकानीको सार

इन्जा कस्तो संस्था हो ?
नेपाली पत्रकारहरुको अन्तारिष्ट्रय सञ्जाल जसको अंग्रेजीमा रुपान्तरण गर्दा इन्जा भएको हो । यो एउटा प्रोजेक्ट बेस गैर नाफामूलक अन्तरराष्ट्रिय संजाल हो । यसको मुख्य कार्यालय अमेरिकामा छ । यो संस्थाले संसारका नेपाली पत्रकारहरुलाई नेटवर्क, प्लेटफर्म र रिसोर्स उपलब्ध गराउने उद्देश्य राखेको छ । यो संस्था २०१७ मा अमेरिकाको राजधानी वासिंगटन डिसीमा खोलिएको हो । अहिले यो सञ्जाल ५ वटा महादेशमा छ । अमेरिका, युरोप, अष्ट्रेलिया, एशिया र अफ्रिकामा यो सञ्जाल विस्तार भईसकेको छ । महादेशस्तरमा यसको सञ्जाल विस्तारपछि अहिले देशस्तरमा पनि यो सञ्जाल विस्तारको काम भईरहेको छ । भारत, जापान, क्यानडा लगायतका देशमा यसको सञ्जाल विस्तार गरिँदैछ । यसको संरक्षकमा अमेरिकामा सन १९९५ देखि सगरमाथा टिभी संचालन गर्नु भएका वरिष्ठ पत्रकार रामचन्द्र खरेल र कान्तिपुरका संस्थापक सम्पादक एवं वरिष्ठ पत्रकार योगेश उपाध्याय हुनुहुन्छ । हामीले यस संस्थालाई एकाडेमी र एक रिसोर्स सेन्टरको रुपमा विकसित गर्ने प्रयास गरिरहेका छौं ।

अहिले तपाइँको नेपाल बसाइ कसरी वितिरहेको छ ?
करिब ३ हप्ता भयो । म यतातिर छु । मैंले यो बसाइका क्रममा ठाउँ ठाउँमा पत्रकारसाथीहरुसंग हाम्रो संस्थाको उद्धेश्यका बारे छलफल गरिरहेको छु ।
विभिन्न महादेश र देशहरुलाई समेटेर पत्रकारहरूको प्रभावकारी सञ्जाल बनाएपछि मात्रै हामी उद्धेश्य पुरा गर्न सफल हुनेछौं ।
अर्को कुरा ईन्जाले यसवर्षदेखि मार्च महिनाको पहिलो दिनलाई अन्तराष्ट्रिय ईन्जा डे को रुपमा मनाउने निर्णय गरेको छ । यसमा पनि मेरो व्यस्तता जोडिनेछ । साथसाथै म अहिले पारिवारिक कामको सिलसिलामा पनि नेपाल आएको हुँ । मसंगै श्रीमती सीतासहित परिवारका सदस्यहरु पनि यहाँ आएकाले आफन्त, इष्टमित्रहरुसंगको भेटघाट पनि मेरो दैनिकीमा जोडिएको छ ।

ईन्जाले गरेका मुख्य कामहरु चाहिं के हुन ?
स्थापनाको छोटो समयमै यो संस्थाले डायस्पोरा पत्रकारिताको प्रवर्धन र नेपाली संचारसंग समन्वय गर्न भूमिका खेलेको छ । नेपाललाई परदेशमा चिनाएको छ । हाम्रो स्वतन्त्र र भिजन सहितको काम देखेर नै हामीलाई अमेरिकादेखि क्यानडा, युरोप, अष्ट्रेलिया, अफ्रिका र नेपाल लगयत एशियाबाट असंख्य साथीहरुले मनपराएर सहभागी हुनुभएको छ ।
अमेरिका, युरोपतिर हामीले धेरै पटक अन्तरक्रिया कार्यक्रमहरु, अध्ययन, अनुसन्धानहरु गरिरहेका छौ । भर्खरै नेपालमा साहित्यिक लेखक चुडामणि रेग्मीलाई १००० डलरको ईञ्जा श्रष्टा सम्मान पुरस्कार, मेनुका ढुंगाना र प्रकाश सिंहलाई संयुक्त रुपमा १००० डलरको ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार दिइएको छ ।
अहिले संसारभरि रहनु भएका पत्रकार, लेखक तथा साहित्य र पत्रकारिता प्रति चासो राख्नुहुने साथीहरुले हामीले गरेका कामहरुमा चासो देखाउनु भएको छ । केही समय अघि हामीले ईन्जा साहसिक पत्रकारिता पुरस्कारबाट नेपालका युवा पत्रकार अजयबाबु शिवाकोटीलाई सम्मान गर्योै भने ब्लड क्यान्सरबाट पीडित भई उपचारको क्रममा रहनुभएका पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ हामीले भर्खरै १४ लाख रुपैयाँ संस्थागत रुपमा सहयोग प्रदान गर्यौं । हामी संसारभरको पत्रकारिताको विकासका लागि के गर्न सकिन्छ भन्ने बिषयमा नै केन्द्रित छौं ।

नेपालको पत्रकारितामा चाहिं इन्जाको सहयोग कस्तो रहला ?
अहिले हाम्रो पत्रकारितामा टेक्नोलोजी र सामाजिक संजालको प्रवेशले यो पेशा एकातिर बदनामको दिशामा अघि बढिरहेको छ । अर्कोतिर यसको दुरुपयोगले हामी आफैंलाई साइबर अपराधतर्फ धकेलिरहेको छ ।
त्यसैले हामीले ईन्जाको डे वानबाटै नैतिक पत्रकारिता र पेशागत मर्यादाका कुराहरुमा जोडदिंदै आएका छौं । पत्रकार मात्र हैन यसमा समाज पनि उत्तिकै जिम्वेदार छ । हाम्रो दवाव र प्रभावको कारण विशेषत अमेरिकी डायस्पोरामा भैरहेको पत्रकारिता र संघ संस्था संचालनमा धेरै प्रगति भएको हामीलाई अनुभूति भएको छ ।
नैतिक पत्रकारिताको पक्षमा केही सुधार भएको पाइन्छ । हामीले पत्रकार साथीहरुको पेशागत क्षमता अभिवृद्दीको लागि आईएफजे, आइजेनेट, सीपीजे, एसपीजे, सेन्टर फर इन्टरनेसनल मिडिया एसोसिएसन, नेसनल साइबर सेक्युरिटी एलाइन्स, ग्लोबल ईन्भेस्टिगेटिभ जर्ना्लिष्ट एसोसिएसन, पेन अमेरिका जस्ता संस्थाहरुसंग मिलेर तालीम र अन्तरक्रियाहरु संचालन गर्न तयारी गरिरहेका छौं । ईन्जाले नेपालका मिडियाकर्मी साथीहरुको आवश्यकता र चाहना अनुरूप अन्तरराष्ट्रिय स्तरमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने छ ।
प्रसंग बदलौं,
अहिलेको पुस्ता यसरीनै विदेशगमन हुने र उतै बस्ने गर्नाले नेपालको संस्कार, संस्कृतिहरु चाहिं अब कता जाला ? के यो बिषयमा तपाइँहरुले कहिल्यै चिन्तन गर्नुभएको छ ?
हो हामी नेपालीहरु अहिले विश्वका कुना कुनामा पुगेका छौं । नेपाल भित्रको नेपाल र नेपाल बाहिर ( विश्वभर) अर्को नेपाल पनि छ भन्ने गरेका छौं । हामीले यसर्थमा यसो भनिरहेका छौं कि हामी नेपालमा नेपालीहरुको अवस्था जे छ बाह्यमुलुकहरुमा अलि भिन्न छ । यो सबैलाई थाह भएको कुरा हो । हामी विश्वव्यापीकरणको युगमा छौं । तर पनि हामी हाम्रो संस्कार, संस्कृतिको संरक्षणमा पनि लाग्नु पर्छ । अहिले चाहे अमेरिकामा भन्नु होस चाहे जुनसुकै देशमा नेपाली भाषीहरुले आफ्नो परिचय र पहिचान खुल्ने गीता, भाका, विभिन्न धार्मिक अनुष्ठान आदिहरु सञ्चालन गरेर बस्नु भएको छ । कंही पनि नेपाली संस्कार संस्कृति मरेको छैन । हामी नेपालीहरुलाई जोड्नेनै साहित्य र संस्कृतिले हो । हाम्रो पुस्ता यो कुरामा चिन्तित पनि छ । अमेरिकामा अहिले नेपाली स्कूल पनि सञ्चालनमा छन् त्यसैका लागि । जसमा त्यहाँको औपचारिक शिक्षाबाहेक नेपाली कला, संस्कृति, संस्कारका बिषयमा ज्ञान दिइनुका साथै विभिन्न कला प्रतिभाहरुको उजागर गर्ने गरिन्छ ।

अमेरिकामा अहिले भुटानी शरणार्थीहरु पनि जानु भएको छ , नेपालबाटै लगिएका भुटानीहरुको त्यहाँको अवस्था चाहिं के छ ?
हो ठुलो संख्यामा भुटानीहरु अमेरिकामा आइओएम मार्फत पुग्नु भएको छ । उहाँहरु पनि एउटा संघर्षको चरण पार गरेर अहिले सामान्य दैनिकी जिवन व्यतित गरिरहनु भएको छ । शुरुका दिनमा अमेरिका जानु भएका भुटानीहरुलाई कठिनाई थियो । अहिले त्यस्तो अवस्था छैन । पहिला त्यहाँ प्रवेश गर्ने वित्तिकै भाषाको समस्या थियो । म आफैंले पनि त्यसबेला उहाँहरुलाई सहजीकरण गरिदिएको थिएँ । भुटानी र हामी नेपालीका बीचमा त खासै त्यस्तो भिन्नता पनि त छैन । अमेरिकाले हामीलाई नेपाली र भुटानीका रुपमा भन्दा पनि समग्रमा एशियन नागरिकका रुपमा लिने हो । उसले यो वा त्यो देश भन्दा पनि माथि उठेर महादेशलाई महत्व दिन्छ । हामीसंग धेरै नेपाली भाषी भुटानीहरु पनि जोडिने कुरा स्वभाविक भयो । उहाँहरुसंग हामीले सहकार्य गरेर धेरै कामहरु गर्न सक्छौं । इन्जाको कार्यसमितिमा पनि दुई जना भुटानी साथीहरु जोडिनु भएको छ ।

Facebook Comments Box