दमक/ झापाको दमक ९ मा १५ बर्ष अघि परिकल्पना गरी स्थापना भएको अनाथ बाल बृद्ध आश्रम दमकले अनाथहरुको संरक्षण र सेवाका लागि निर्माण गरेको भवनमा एक जना पनि अनाथ छैनन ।
घर परिवारबाट अपहेलित भएका , आफन्त वा छोराछोरी नभएका बृद्ध बृद्धा, बेसहारा बनेका अनाथ बालबालिकाहरुलाई आवासीय सुविधासहित संरक्षण गर्ने उदेश्यले गत माघदेखि सञ्चालनमा आएको घोषणा गरिएको सो आश्रममा एक जना पनि अनाथ नभएका हुन् । आश्रमकी संस्थापक मध्येकी एक स्थानीय महिला नेतृ मन्दरा पौडेलले आश्रमको उदेश्य अनुसार आश्रममा बस्ने बालबालिका वा वृद्ध् बृद्धा कोहि नभेटिएको बताइन ् । उनले भनिन– आश्रममा चाहिने सबैकुराको बन्दोबस्ती गरेका छौं तर अहिले सम्म न बृद्धबृद्धा नै भटिनु भो न बालबालिका नै । उनले आश्रमका संस्थापक तथा सामाजिक अभियान्ताहरु अझैपनि अनाथहरुको सेवाका लागि खोजी गर्दै हिंडेको बताइन् ।
यसरी जुटेको थियो करोडौंको सम्पत्ति
२०६० माघ २ गते पहिलो पटक त्यहाँ महायज्ञ आयोजना गरेर आश्रमका लागि चाहिने जग्गा र भौतिक संरचना बनाउने योजना बनाइएको थियो । महायज्ञमा दानबिर जग्गादाताहरुले जग्गा दिए । जग्गा नदिनेले पैसा दिए । कसैले जिन्सी सामाग्री दिए । २०६४ सालमा त्यहाँ भवन निर्माण शुरु भयो स्थानीय सामाजिक व्यक्तित्व जगत बोहोराले निर्माण समितिको नेतृत्व गरे । संस्थाको नेतृत्व सुमित्रा प्रसाइँले गरिन् । आश्रम बनाउनकै लागि दुई पटक सम्म महायज्ञ लाग्यो ।
कसैले घोषित रकम दिए कसैले घोषणा गरेर पनि संस्थालाई दिने भनेको सहयोग दिएनन् । क्षणिक चर्चा भयो तर पनि उद्धेश्य अनुसार आश्रमको नाममा २ विगाहा अढाई धुर जग्गा प्राप्ती भयो । आश्रम सञ्चालनका लागि १० कोठाको पक्की भवन निर्माण गरियो । शौचालय, स्नान गृहसहित २ सय ५० जना मानिस अट्न सक्ने क्षमताको आवास गृह निर्माणले पूर्णता पाएको लगभग एक बर्ष भईसकेको छ । त्यहाँ कम्तीमा डेढ करोड बराबरको भौतिक संरचना तयार भएको छ । जग्गा र त्यो संरचनाको मुल्याङकन गर्ने हो भने करोडौंको सार्वजनिक सम्पत्ती छ त्यहाँ ।
आश्रम परिसरमा दाता भवानी मिश्रले करिब ७ लाख ८० हजार रुपैयाँको खर्चमा दुर्गा मन्दिर निर्माण गरिदिएका छन् ।
आश्रमको स्थापनाको उदेश्यबारे संस्थाकी पूर्व सचिव समेत रहेकी सल्लाहकार मिना कोइरालाका अनुसार आश्रम स्थापना गर्दा आमा बाबु नभएका, वेवारिसे बालबालिका तथा ७५ बर्ष उमेर काटेका सहाराबिहिनहरुलाई आश्रय दिने लक्ष्य राखिएको थियो ।
निजी प्रयासमा बृद्धबृद्धाको हेरचाह
दमक ४ मा एक परिवारले निजी खर्चमा स्थापना गरेको रत्न बृद्ध आश्रममा भने ७÷८ जना असहाय बृद्धबृद्धाहरुले संरक्षण पाईरहेका छन् । दमकको चियाबगान नजिकै रहेको सो आश्रममा रहेका बृद्धबृद्धाहरुलाई बेलायतमा रहेको सैनिक तथा नर्सिङ पेशामा आवद्ध मन सुनुवारको परिवारले सम्पूर्ण व्यवस्थापन खर्च ब्यहोरेर संरक्षण गरिरहेका हुन् ।