दमक / प्रधानमन्त्री केपी शर्मा ओलीबाट गएको चैत्र १८ गते उद्घाटन गरिएको दमक ७ स्थित पशुहाट परिसरमा रहेको करिब १५ करोड लागतमा व्यवस्थित पशुपंक्षी बजारका लागि कम्पाउण्ड घेरा गरी बनाइएको संरचना अझै प्रयोगमा छैन ।

प्रदेशकै ठूलो आधुनिक पशु–पन्छी बजार दमकमा रहेको भन्दै यहाँ निर्माण गरिएको व्यवस्थित पशु बजार भित्रका पूर्वाधार तथा भौतिक संरचना उद्घाटन भएको झण्डै दुई महिना वित्दा पनि प्रयोग हुन नसकेको हो । विश्व बैंकको सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले निर्माण गरेको पशु बजार प्रयोगमा आउन ढिलाई भएको मात्रै छैन पशुहाट परिसर बाहिर हरेक बुधबार सडक आवागमनमै अवरोध पुग्ने गरि पशु पंक्षी किनबेचका लागि राखिँदा सर्वसाधारणको आवागमनमा असहज हुने गरेको छ ।

त्यहाँको करीब ५ विगाहा ४ कठठा क्षेत्रफलमा करिब साढे १३ करोड रुपैयाँको लागतमा बजार निर्माण गरिएको छ ।
सो बजारभित्र व्यवस्थित रूपमा क्रेता तथा विक्रेता दुवैलाई सहज हुने किसिमको पशु–पन्छी किनबेच गर्ने स्थल, गाई, भैंसी र बाख्राका लागि अलग अलग भवन प्रशासनिक भवन, चमेनागृह, व्यापारी तथा सर्वसाधारण पशुधनी समेतलाई सहज बस्न मिल्ने गरिका संरचना छन् । यातायात पार्किङको सुविधा समेत बजार भित्र रहेको छ । नेपालकै नमुना बजारका रुपमा रहेको दमकको पशुहाटबाट नगरपालिकाले बर्षेनी झण्डै आधा करोड आन्तरिक आम्दानी गर्दै आएको छ ।

पशुहाट नजिकै करिब ५ करोड लागतमा बनेको दमक बसपार्कमा रहेको अत्याधुनिक टर्मिनल भवनको आशिंक उपयोग अहिले अस्थाई रुपमा मात्रै भईरहेको छ । करिब एक बर्ष अघिनै निर्माण सम्पन्न भएको त्यहाँको अपाङग मैत्री भनिएको भवनमा केहि समयका लागि ट्राफिक प्रहरी कार्यालय दमकको टोली बसेको छ । त्यसबाहेक टर्मिनल भवन कुनै काममा प्रयोग गरिएको छैन । २ विगाह १ कठ्ठा क्षेत्रफलमा फैलिएको बसपार्कमा सो भवन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाम मार्फत बनाइएको हो ।

Facebook Comments Box