दमक/झापाको दमक ४ मा रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनतर बालबालिकाहरुलाई लागूऔषध विरुद्ध सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।
दमक ४ को वडा कार्यालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सो वडामा रहेका विद्यालयमा अध्ययनरत करीब १८० जना विद्यार्थी सहभागी थिए । विद्यालय तहमा अध्ययनरत किशोरावस्थामा रहेका छात्रछात्राहरुमार्फत समाजमा यस किसिमका सचेतनामुलक कार्यक्रम प्रभावकारी हुने विश्वाससहित सो कार्यक्रम गरिएको दमक ४ का वडाध्यक्ष कुमार साम्सुहाङले बताए ।
वडाका पाथीार, पूर्वाञ्चल, एकता , श्री कृष्ण मावि, विद्योदय, जनचेतना आधारभुत प्रावि र ताराबारी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सो कार्यक्रममा सहभागी भएका वडा सदस्य मणिराज धिमालले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बा र प्रहरी नायव निरिक्षक मोहनकुमार वोगटीले लागूऔषधका किसिम, यसको असर र यसको प्रयोग विरुद्ध बनेका कानुनहरुका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उद्घाटनका अवसरमा वडाध्यक्ष साम्सुहाङ, इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बा, दमक ५ का वडा सचिव भोसकुमार थुलुङ लगायत, वडा सदस्य विभिन्न विद्यालयका शिक्षक , अभिभावक प्रतिनिधि लगायत सहभागी थिए । दमक ४ की वडा सचिव अस्मिता खनालका अनुसार सोही अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ ।