दमक/ झापाको गौरीगञ्ज गाउँपालिकामा अहिले सम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । पछिल्लो समय १३० जनाको स्वाव संकलन गरी परिक्षणका लागि विराटनगर र धरानमा सरकारले तोकेका प्रयोगशालाहरुमा पठाइएको छ ।
परिक्षणको फाइनल रिपोर्ट आइनसकेका सबै क्वारिन्टीनमा छन् ।

उनीहरुका लागि गाउँपालिकाले चार स्थानमा क्वारिन्टीन खडा गरेको छ । विशेष गरी भारतबाट घर फर्किएका सो गाउँपालिकाका बासिन्दालाई गाउँपालिका आफैंले ति क्वारिन्टीनमा खानपिन देखि आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको छ । गाउँपालिकाले कोरोना रोकथामका लागि केन्द्र सरकार वा स्वास्थ्य विभागबाट अहिले सम्म कुनै किसिमको सहयोग प्राप्त गर्न नसकेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले निष्कर्ष न्यूजसंगको कुराकानीमा भन्नु भयो – प्रदेश सरकारले कोरोना रोकथाम उपचार एवम लक डाउन प्रभावितका लागि पठाएको ५ लाख रुपैयाँ बाहेक हाम्रो गाउँपालिकालाई केन्द्र सरकार वा स्वास्थ्य विभागबाट एउटा मास्क पनि प्राप्त भएको छैन । केन्द्र सरकारले कोरोना रोकथाममा गरेको खर्चको विवरण सुनेर आफुहरुलाई आश्चर्य लागेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले क्वारिन्टीनमा राखेकाहरुलाई खानपिन देखि स्वास्थ्य सामाग्रीको जोहो गर्ने, भारतबाट फर्किएकाहरुलाई सीमाबाट उद्धार गरेर ल्याउने, उपचारका लागि पठाउने क्रममा हुने यातायात खर्च सबै जोड्ने हो भने दैनिक ५०–६० हजार रुपैयाँ भन्दा धेरै खर्च छ ।
भारतीय सीमासंग जोडिएको सो गाउँपालिका अन्तर्गतका कुञ्जीबारी, कोरोबारी र फत्तेपुर नाका हुँदै भारतबाट नेपालीहरु फर्किने क्रम उच्च छ । दैनिक ति नाकाहरुमा आइपुगेका नागरिकलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीसंगको समन्वयनमा स्थानीय सरकारले उद्धार गरेर आवासीय व्यवस्थापन गर्नुका साथै उपचारको प्रकृयामा लैजाने गरेको उपाध्यक्ष दिपिन्द्र थापा बताउनु हुन्छ । गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रले दैनिक भारतबाट फर्किनेहरुको चाप बढेसंगै उनीहरुको व्यवस्थापनमा गाउँपालिकालाई चुनौती थपिइरहेको बताउनु भयो ।