दमक/ झापाको कमल गाउँपालिका वडा नं ५ मा पाडाजुँगीमा विराटनगर घर भएका डिल्लीराम गुरागाइँ र कमलादेवी गुरागाइँको परिवारले सवा करोड रुपैयाँ लागतमा सार्वजनिक प्रयोजनका लागि घर निर्माण गरिदिएका छन् ।
गुरागाइँ परिवारले गुरागाइँ वंश उत्थान समाज कल्याण प्रतिष्ठानको हाता भित्र प्रतिष्ठानका नाममा ३ तलाको कूल १७ कोठाको ट्रस्टसहितको पक्की घर निर्माण दिएका हो ।
ताप्लेजुङ पुख्र्यौली घर भएका दाता गुरागाइँले प्रवासमा बस्दै आएका कान्छा छोराको समेत सहयोगमा सो घर निर्माण पूरा गरिदिनु भएको हो । उहाँले काभ्रेमा र काठमाडौंको गठ्ठाघरमा यस अघि आफ्नो स्वामित्वमा रहेको घर जग्गा बेचेर गुरगाइँ वंश एकता, हित र धार्मिक वेद विद्यालय सञ्चालनका लागि सो घर निर्माण गरिदिएको बताउनु भयो ।
दाता गुरगाइँ जिविस मोरङको मनोनित सभापति, ताप्लेजुङ फुङलिङ गाउँ पञ्चायतका पूर्व उपप्रधानपञ्च लगायत विभिन्न सरकारी तथा सामाजिक संघ संस्थाहरुमा लामो समेत जिम्मेवारी बहन गरिसकेका व्यक्तित्व हुनुहुन्छ ।
प्रतिष्ठानले आज सो घर निर्माण सम्पन्न भएपछि त्यहाँ आयोजित पूजाआजा पछि पत्रकार सम्मेलन गरी दाता परिवारबाट गुरागाइँ वशंोत्थान तथा परम्परा, संस्कार, संस्कृति संरक्षणका क्षेत्रमा दिएको योगदानका बारेमा जानकारी गराएको छ । प्रतिष्ठानका कन्द्रिय सचिव गोपाल गुरागाइँले दाता परिवारले सो स्थानमा वेद विद्यालय सञ्चालको मुख्य उद्धेश्य राखेर सो घर निर्माण गरिदिएको बताउँदै सोको उदेश्य अनुसार प्रतिष्ठानले २०७६ साल भित्रै त्यहाँ वेद विद्यालय सञ्चालनको लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनु भयो ।

प्रतिष्ठानका उपाध्यक्ष चुडामणी गुरागाइँले प्रतिष्ठानले आफ्नो विधानमा नै वेद विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था उल्लेख गरिसकेका कारण अब चाँडै विद्यालय सञ्चालनको अनुमती लिएर पठनपाठन शुरु गर्ने प्रकृयामा जाने बताउनु भयो । सो घरमा विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरु समेत सञ्चालन गर्न सहज हुनेछ । प्रतिष्ठानको स्वामित्वमा त्यहाँ रहेको कूल १७ कठठ जग्गामा सो घरसंगै दाताहरुले मन्दिर, स्वागत द्धार , सामुदायिक भवन लगायतका संरचनाहरु समेत बनाई दिएका छन् ।
सो परिसरमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका अर्का दाता जीवन गुरागाइँले १ करोड ११ लाख रुपैयाँको लागतमा गुरागाइँ वंशका ज्येष्ठहरुका लागि आश्रम भवन निर्माण गरिरहेका छन् । प्रतिष्ठानका सचिव गुरागाइँले सो प्रतिष्ठान स्थापनाको रजत बर्ष समेत परेकाले यो बर्ष प्रतिष्ठान परिसरमा सार्वजनिक महत्वका थप संरचनाहरु निर्माण हुने क्रम चल्ने बताउनु भयो । रजत बर्षकै अवसरमा वेद विद्यालय समेत सञ्चालनमा ल्याउन आवश्यक तयारीमा जुटेको उहाँले स्पष्ट पार्नुभयो ।