दमक/झापाको दमकमा कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि सदै सम्मको सजगता अपनाउन दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई सार्वजनिक अपिल गरेको छ ।
संघले सार्वजनिक सूचना मार्फत आम व्यवसायी तथा उपभोक्ताहरुलाई कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न आआफ्नो पसल अगाडी अनिवार्य हात धुन, ठिक संग मास्कको प्रयोग गर्न, भिडभाड नगर्न व्यक्तिगत तथा सामाजिक दुरी कायम राख्न आग्रह गरेको हो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा आज संघका नेताहरुले दमकको तरकारी बजार क्षेत्रका पसल पसलमा पुगेर त्यस क्षेत्रमा भईरहेको भिडभाडलाई कम गर्दै पर्याप्त सावधानी अपनाउन आग्रह गरेका हुन् । व्यवसायीहरुले त्यस क्षेत्रमा सावधानी अपनाउन कडाइँ गर्दै सुरक्षा व्यवस्था राम्रो बनाउनका लागि सो स्थानमा नगर प्रहरीको आवश्यकता औंल्याएका संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै संघका अध्यक्ष श्रेष्ठले तत्कालै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनासंग सम्पर्क गरेका छन् । तिम्सिनाले भोली बिहान ७ बजेदेखि नयाँ तरकारी बजारस्थलमा २ जना नगर प्रहरी खटाउने आश्वासन दिएका बताइएको छ ।
संघ अन्तर्गतको रोजगारदाता इकाई परिषदकी संयोजक रमा लिम्बु, सदस्यहरु सन्दिप चापागाइँ, विवेक भट्टराई, बन्दना रिमाल, देवेन्द्र बराल, कष्ण खनाल लगायतले तरकारी बजारमा पुगेर तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठसहित व्यवसायीहरुसंग प्रत्यक्ष छलफल गरी त्यहाँ आवश्यक सतर्कताका लागि सबै उपायहरु अवलम्बन गर्न आग्रह गरेका छन् ।

 

 

Facebook Comments Box