दमक/ नेपालमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको ज्यान गएको छ । यससंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
आज बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिराहा गोलबजारका २३ वर्षीय युवकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जानकारी दिए ।
ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । यस अघि हिजो साँझ पाटन अस्पतालमा उपचाररत विरगञ्जका एक पुरुषको मृत्यु भएको थियो ।
अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो । डा शर्माका अनुसार कोरोना संक्रमित ती पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको थियो । उपचारका क्रममा मृत्यु भएका ती संक्रमित मधुमेह र उच्च रक्तचापका बिरामी थिए । हरेक दिन अपरान्ह ४ बजे हुँदै आएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ सकिएपछि मात्रै साँझपख ति पुरुषको मृत्यु भएकाले हिजो सम्म मन्त्रालयले कोरोना पुष्टि भएका मृतकको संख्या ६५ मात्रै उल्लेख गरेको थियो ।