दमक/ पूर्वका दमक, विर्तामोड, उर्लाबारी, इटहरी लगायतका शहरमा सञ्चालित कतिपय औषधि पसल ( फार्मेसी) मा औषधिका नाममा नेपालमा प्रतिबन्धित लागुऔषध तथा लागुऔषधजन्य बस्तुको विक्री वितरण भईरहेको पाइएको छ ।
औषधि व्यवस्था विभागले यि सहरहरुमा गरेको आकस्मिक अनुगमनका क्रममा त्यस्तो पाइएको हो । औषधि व्यवस्था विभाग विराटनगर र प्रहरीको संयुक्त टोलीले हालै यस क्षेत्रबाट १५ जना फार्मेसी सञ्चालकहरुलाई पक्राउ गरेर कारवाहीको प्रकृयामा लगेको छ । औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जिव शर्मा कट्टेलले पछिल्लो समय केहि दिन अघि दमकको एक शंकास्पद ठाउँमा गरिएको जाँचका क्रममा प्रतिबन्धित औषधिको डिलरनै फेला परेको बताए ।
दमक ७ का ३८ बर्षिय गंगा बहादुर खड्का सो डिलरका सञ्चालक भएको पाइएको छ । उनलाई नियन्त्रणमा लिएर औषधि ऐन २०३५ अनुसार कारवाही अघि बढाइएको छ ।
खड्काले नेपालमा आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको औषधिको लुकाइछिपाइ बिक्री गर्न डिलर नै सञ्चालन गरेको पाइएको हो । दमक मेडिसिन डिस्ट्रीब्युटर्स औषधिको होलसेल पसल सञ्चालन गर्दै आएका खड्काले घरमा नै त्यस किसिमको प्रतिबन्धित औषधि बेच्ने गरेको र आफ्ना विश्वासिला पात्रहरुलाई उपलब्ध गराउने गरेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जनाइएको छ ।
भारतबाट ट्रामाडोल, जेनग्रा रेड, लुलीगार्ड, डर्मीकेम ओसी, प्रेगाउट किट, भिवेल फोर्ट, क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधिको कारोबारमा खड्काको संलग्नता पाइएको छ ।