दमक/ रोजगारीका लागि भारत गएका मानिसहरु धमाधम फर्किन थालेपछि प्रदेश एकमा कोरोना संक्रमण र मृत्युको क्रम बढ्दा समस्या विकराल बन्दै गएको छ । गत शनिबार राति मृत्यु भएकी विराटनगर ३ की बृद्धाको शव दुई दिन सम्म अस्पतालमै अलपत्र बन्यो । ति बृद्धाका छोराबुहारी र नातीमा संक्रमण देखिएका कारण उनको शव बुझ्ने न आफन्त पुगे न कोही शुभचिन्तकनै । अन्तत हिजों साँझ नेपाली सेनाले उनको शव उठाएर कानेपोखरी जंगलमा व्यवस्थापन गर्यो ।
कोरोना संक्रमित भएपछि मारवाडी सेवा सदनको आइसोलेशनमा बस्दै आएका उनको परिवारका तीनै जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै बृद्धा आमाको मृत्यु भएको हो । आइतबार विहान परिवारका ३ जनाको रिपोर्ट आउँदा बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएको छ भने मृतक बृद्धाको रिपोर्ट नेगेटिभ आएको छ ।
ति बृद्धाको शव व्यवस्थापन गरिसक्दा नसक्दा आइतबार इलामको सूर्योदय नगरपालिकास्थित करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भयो । भारतको हैदराबादबाट आएर गत २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती पुरुषको हिजो आइतबार राति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती ११.५ बजे उनको मृत्यु भएको सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।
गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले जानकारी दिए ।
थुनावमा पनि देखियो कोरोना
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई जना थुनुवामा पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ । तीन दिनअघि पक्राउ परेका ज्यान मार्ने उद्योग मुद्दाका आरोपीलाई कोरोना संक्रमण भएको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीको हिरासतमा १२ जना थुनुवा रहेकोमा अन्यको भने रिपोर्ट नेगटिभ आएको जिल्ला प्रहरी कार्यालयका कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।
नर्सको परिवारका ४ जना संक्रमित
त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जनालाई संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा काम गर्ने धरान १६ की नर्सको परिवारमा ८ महिने बालकसहित ४ जनामा संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
दुई हजार बढी संक्रमित
आइतबार सम्ममा प्र्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २ हजार नाघेको छ । संक्रमणका कारण एक महिलासहित १० जनाको ज्यान गएको पुष्टि आइतबार अपरान्ह सम्ममा भएको छ । सो समय सम्म मात्रै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या दुई हजार १० रहेको थियो । आज पनि संक्रमण पुष्टि हुने क्रम र ज्यान जाने क्रम जारी छ ।
१ हजार ८ सय ८ ले जिते कोरोना
हाल सम्म १ हजार ८ सय ८ जनाले कोरोना जितेर घर फर्किएका छन् । भने क्वारेन्टाइनमा रहेकाको संख्या २ हजार ५८७ रहेको छ भने होम आइसोलेसनमा बस्नेको संख्या ९३ रहेको छ । प्रदेश १ मा ५०० भन्दा बढी संक्रमित भएको जिल्लाको सूचीमा मोरङ परेको छ ।