दमक/झापाको दमकमा आज तीन वटा लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।
दमकको गणतन्त्र चोकमा लायन्स क्लब अफ दमक इष्टर्न लायन, दमक गोल्ड र लियो क्लब अफ इष्टर्न लायनले संयुक्त रुपमा आयोजना गरेको रक्तदानमा लायन्सकर्मी तथा अन्य इच्छुक रक्तदाताहरुले रगत दिएका थिए ।
इष्टर्न लायनका अध्यक्ष विमल शर्माको अध्यक्षता र लायन लिडर अजय अग्रवालको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाले प्राविधिक सहयोग गरेको थियो । लायन्स क्लबहरुले बर्षभरी गरिने विभिन्न सामाजिक कामहरु मध्ये रक्तदानलाई उच्च प्राथमिकता दिदैं आएका छन् ।
लियो क्लबले गौरादहमा सरसफाई सामग्री दियो
त्यसैगरी लियो क्लब अफ गौरादहको आयोजनमा दुईवटा सामुदायिक विद्यालयमा सरसफाई सम्बन्धि सामग्री वितरण तथा चेतना मूलक कार्यक्रम सम्पन्न भयो ।
लियो क्लब अफ गौरादहका चाटर प्रेसिडेन्ट बिनोद चुडाँलको सभापतित्व र लायन्स क्लब अफ गौरादहका चाटर प्रेसिडेन्ट डा.तिलक खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयहरुकै प्राङ्गडमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका वडा नं. ३ र ९ स्थित क्रमश श्री प्राथमिक विद्यालय र सूर्योदय आधारभूत विद्यालयमा सरसफाई सम्बन्धि डस्टविन, कुच्चो, फिनायल आदि सामग्री वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीलाई सरसफाई सम्बन्धि लायन्स क्लब अफ गौरादहका द्वितीय उपाध्यक्ष भीमविजय बाँस्तोलाले सहजीकरण गरेका थिए । कार्यक्रममा श्री प्राथमिक विद्यालयका प्रधानाध्यापक गोपालबहादुर थापा र सूर्योदय आधारभूत विद्यालयका लीलानाथ गौतम लगायतले बोलेका थिए ।
लियो क्लबका तृतीय उपाध्यक्ष एकता पोखरेलले स्वागत गरेको कार्यक्रममा लियो डाइरेक्टर रविन्द्र ढुङ्गाना र लियो द्वितीय उपाध्यक्ष ओमकुमार राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए । लियो क्लबले गौरादह नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा क्लब गठन गरेर एक वर्षे सरसफाई सम्बन्धि चेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको समेत लियो क्लबका चाटर प्रेसिडेन्ट बिनोद चुडाँलले जानकारी दिए ।