दमक/ भारतबाट भन्सार छल्दै नेपाल भित्र्याइएका ओरियन्स नामक नेटवर्किङ कम्पनीका करीब ५० लाख पर्ने सामान झापामा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सोमबार (आज) मात्रै झिलझिले क्षेत्रबाट ६ लाख ७५ हजार मोल पर्ने विभिन्न सामग्रीहरु बरामद भएको जनाएको छ । अहिले सम्म सो नेटवर्किङ कम्पनीका एजेण्टहरुले भन्सार छलेर ल्याएका झण्डै ५० लाख मोल पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । ति सामान भित्र्याउने ६ जनालाइ ३ वटा मोटरसाइकलसहित पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका १८ बस्ने २८ वर्षिय नगेन्द्र चौधरी , सोही ठाउँका २६ वर्षिय शिवराम चौधरी , मोरङ ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षिय सुरजकुमार चौधरी , सोही गाउँपालिकाका ७ बस्ने २५ वर्षिय दीपक सिंह , वडा नं ६ बस्ने २५ वर्षिय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षिय सुनिल बिश्वास रहेका छन् ।