लखनपुर/ कमल ५ साविक लखनपुर १ स्थित बस्ती विकास बचत तथा ऋण सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभा सहभागीहरुबीच भौतिक दुरी कायम राख्दै आज सम्पन्न भएको छ ।


स्थानीय नवयुवा क्लबको सभाकक्षमा संस्थाकी अध्यक्ष कमलादेवी बस्नेतको अध्यक्षता र स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष इन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सहभागी संस्थाका सदस्यहरुलाई आलोपालो गरेर प्रवेशको व्यवस्था मिलाइएको थियो । संस्थाले बार्षिक साधारण सभा तथा बार्षिकोत्सवको समेत अवसर पारेर विभिन्न बिधामा उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको संस्थाका सचिव भुपेन्द्र लावतीले जानकारी दिए ।

पुरस्कृत हुनेहरुमा साधारण वचत तर्फ देवराज पौडेल र लिलानाथ तुम्रोक, बाल बचत तथा दिपेश सहनी, आरोही कार्की, बन्दना साह र कुसुम नेपाली रहेका छन । त्यस्तै उत्कृष्ट कर्जातर्फ दिपक कुमार संग्रौलालाई र ज्येष्ठ नागरिक बचत तर्फ कुमार सिं मेचेलाई पुरस्कृत गरिएको छ । त्यस्तै अवधि बचत तर्फ सिजन गुरुङ,समिक्षा पाख्रिन र प्रिति खवासलाई पुरस्कृत गरिएको व्यवस्थापक किशोर गुरागाइँले जानकारी दिए । कोभिड १९ को संक्रमणका कारण आफना सदस्यहरुलाई आलोपालो रुपमा भौतिक दुरी कायम राख्दै सहभागी गराएर गरिएको साधारण सभामा प्रमुख अतिथी इन्द्र राई, संस्थाका निवर्तमान अध्यक्ष तिर्थनारायण ताजपुरीया, लेखा संयोजक देवराज बस्नेत, उपाध्यक्ष गजेन्द्र धिमाल लगायतले सहकारी संस्थाका बिषयमा धारणा राख्दै पुरस्कृत हुनेहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा अध्यक्ष बस्नेतले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन पेश गरेकी थिइन भने सचिव भुपेन्द्र लावतीले कार्यक्रमको सञ्चालन गरेका थिए ।


शेयर पुँजी बढ्यो
संस्थामा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २०७६÷०७७ मा शेयर पुँजीमा बृद्धि भएको छ । कोरोना संक्रमणका बाबजुद संस्थाले ३६ लाख २१ हजार रुपैयाँमा थप ३ लाख ५८ हजार रुपैयाँ शेयर पुँजी बृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सो आर्थिक बर्षमा १ करोड निक्षेप संकलनको लक्ष्य राखेकोमा ४ करोड १९ लाख निक्षेप संकलन गर्न सफल भएको र आर्थिक बर्ष २०७७÷०७८ मा ६ करोड निक्षेप संकलनको लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक उत्तरदायित्व
त्यसैगरी संस्थाले आर्थिक कारोबार मात्रै नगरी सामाजिक उत्तरदायित्व समेत निर्वाह गरेको सचिव भुपेन्द्र लावतीले जनाए । उनका अनुसार गत आर्थिक बर्षमा संस्थाले गाउँपालिकाद्धारा स्थापित कोभिड १९ को राहत कोषमा १० हजार ५१ रुपैयाँ सहयोग उपलब्ध गराएको, कमल ५ मंगलबारेमा कृष्णमाया लिम्बुको घरमा भएको आगलागीका समयमा र मेनेन्जाइटिस पीडित स्थानीय देव लिम्बुलाई समेत आर्थिक सहायता उपलब्ध गराएको उनले जानकारी दिए ।

Facebook Comments Box