दमक/  दमक –८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २१ औं बार्षिक साधारण सभा आज बिहिबारदेखि शुरु भएको छ ।
संस्थाका अध्यक्ष जितमान राईले औपचारिक कार्यक्रमका बीच संस्थाको सभाकक्षमा साधारण सभाको उदघाटन गरे ।

संस्थाको स्थापना दिवस समेत लाई जोडेर आयोजना गरिएको साधारण सभाको उदघाटन कार्यक्रममा अध्यक्ष राईले विश्वभर फैलिएको कोरोना महामारी र सरकारको निर्देशनलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सदस्यहरुलाई आलोपालो उपस्थित हुने प्रवन्ध मिलाइएको बताए ।
भौतिक दुरी कायम राख्दै अनिवार्य मास्कको प्रयोग गरेर सदस्यहरुलाई आजदेखि १ कार्तिक सम्म बार्षिक प्रतिवेदन बुझन सूचित गरिएको व्यवस्थापक  व्यवस्थापक कृष्ण गोलेले बताए ।

प्रतिवेदनमाथि आवश्यक सुझाव संकलन तथा साधारण सभाको समापनका लागि कार्तिक ४ गते सम्मको समय तोकिएको उनले बताए । साधारण सभामा अध्यक्ष राई, उपाध्यक्ष धनराज राई, सचिव लक्षुदास ( एलडी) राई, कोषाध्यक्ष चन्द्रमाया लिम्बु, सदस्यहरु दिपेनवाला राई, फूलसरी राना, पदमबहादुर तामाङ, टंक दुलाल, राजेन्द्र लिम्बुसहित ऋण उपसमितिका संयोजक पारसमणि राई, व्यवस्थापक कृष्ण गोले लगायतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।


सहकारी आफना शेयर सदस्यहरुलाई अझ बढी सेवा, सुविधा पुरयाँउन प्रयत्नशील रहेको अध्यक्ष राईले बताए । कार्यक्रममा सञ्चालक,विभिन्न उपसमिति ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थामा गएको वर्षसम्म २६ संस्थागत,३९६ महिला र ५२१ पुरुष गरि कुल ९४३ जना शेयर सदस्य रहेको छ भने शेयर पूंजी ५ करोड ७ लाख २४ हजार ५५ रुपैया पुगेको छ । त्यस्तै कर्जा लगानी २३ करोड ३४ लाख ४४ हजार १ सय ९८ र ५९ लाख ६ हजार ४२२ रुपैया मुनाफा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैवीच, सहकारीले आफनो बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर बुधबार आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा १४ महिलासहित ५२ जनाले रगतदान गर्नुका साथै रेडक्रस दमक उपशाखा दमक र रेडक्रस लखनपुर उपशाखाद्वारा सञ्चालित एम्बुलेन्सका चालकलाई १ र १ सेट पिपिई समेत हस्तान्तरण गरिएको व्यवस्थापक गोलेले जानकारी दिए ।

Facebook Comments Box