दमक / आज तिहारको दोश्रो दिन अर्थात कुकुर तिहार । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ ।
यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।
कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ ।
कुकुरलाई भैरवको बहान पनि भनिन्छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ ।
बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् ।
मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन पनि छ ।
यस्तो छ लक्ष्मीपूजा गर्ने विधि
१. सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।
२. यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।
३. लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।
४. त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।
५. लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।
६. त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।
१२. कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।