दमक/ झापाको शिवसताक्षी नगरपालिका ६ को शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पतालका रुपमा विकास गरिने भएको छ ।
बहुबर्षिय योजना अन्तर्गत सरकारले १८ करोड रुपैयाँ उपलब्ध गराउने भएसँगै स्वास्थ्य केन्द्र अस्पतालका रुपमा रुपान्तरण हुने भएको सञ्चालक समिति अध्यक्ष समेत रहेका सो वडाका वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । बहुवर्षीय योजना अन्तरगत सरकारले पहिलो चरणमा तीन करोड २३ लाख रुपैयाँ निकास गरिसकेको पनि उनले बताए । सरकारको सशर्त अनुदान रकमबाट बजेट निकासा भएको जनाइएको छ । त्यहाँ एमबीबीएस चिकित्सकको दरबन्दी सहित तीन वेडको स्वास्थ्य केन्द्रका रुपमा रहेको सो स्थानमा अब १५ वेडको अस्पताल हुनेछ ।
एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तरगत स्तरोन्नति हुने सो केन्द्रमा थप जनशक्ति समेत उपलब्ध हुने जनाइएको छ । तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले बजेट निकासा सुरु गरेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।
त्यस क्षेत्रका नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा स्थानीय स्तरमा नै उपलब्ध गराउने योजना अन्तरगत स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वडाध्यक्ष कार्कीले बजेट निकासाका लागि सर्वपक्षीय सहयोग मिलेको बताए । सो स्वास्थ्य केन्द्रमा हाल शिवसताक्षी, झापा र गौरीगञ्ज गाउँपालिकाका अतिरिक्त भारतको बिहारका आशिंक सर्वसाधारणले सेवा लिदैं आएका छन । त्यहाँ २०५१/०५२ सालदेखि स्वास्थ्य केन्द्र सञ्चालित छ ।
एकैदिन देशभर अस्पताल शिलान्यासको तयारी
आउँदो १५ गते सो अस्पतालसहित देशभरका ३९६ वटा अस्पतालको एकैदिन शिलान्यास गर्ने मन्त्रालयको तयारी छ । अस्पताल नभएका पालिकाहरुमा एकैदिन शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।
यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।