दमक/कमल गाउँपालिक ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा आजदेखि शुरु हुँदैछ ।
संस्थाले कोरोना महामारीका कारण यसवर्ष क्षेत्रगत रुपमा साधारणसभा सम्पन्न गर्ने तयारी अनुसार आज (शनिबार) र भोली (आइतबार) साधारण सभा गरिने संस्थाका व्यवस्थापक राजु थापाले जानकारी दिए ।

संस्थाले आफनै भवन परिसर मा साधारण सभा गर्ने र टाढाका सदस्यहरुलाई पर्ने सहजताका लागि केर्खा बजार र गौरादह सेवा केन्द्रबाट पनि प्रतिवेदन उपलब्ध गराईने अध्यक्ष बालकृष्ण गौतमले जानकारी दिए ।
पाडाजुँगीमा मुख्य कार्यालय रहेको सो संस्थाको सेवा केन्द्र केर्खा बजार र गौरादहमा समेत सञ्चालित छ । मंसिर १३ गते कमल ५ का सदस्यहरुका लागि मुख्य कार्यालय पाडाजुंगीमा, १३ गतेनै केर्खा र गौरादहका सेवा केन्द्रमा पनि प्रतिवेदन वितरण गरिने कार्यक्रम राखिएको हो ।
त्यसैगरि, कमल ६ र ७ का सदस्यहरुका लागि मंसिर १४ गते मुख्य कार्यालयमा प्रतिवेदन वितरण गरिने जनाईएको छ ।
यस अघि संस्थाको कार्यालयमा एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष गौतम र पूर्व अध्यक्ष शेरबहादुर श्रेष्ठ, उपाध्यक्ष उषा भण्डारी, सचिव भोजकुमार राई लगायत सञ्चालकहरुले प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदन अध्ययन गरेर शेयर सदस्यहरुवाट प्राप्त हुने सुझावहरुलाई प्रतिवेदनमा समावेश गरिने संस्थाका सचिव भोजकुमार राईले बताए ।
२ करोड ९२ लाख ९८ हजार ८ सय शेयर पूंजी रहेको सहकारीले गत वर्ष कोरोना महामारीका बाबजुद २३ करोड ९२ लाख ९२ हजार ४ सय ५८ रुपैया कुल कारोवार गरेको प्रतिवेदनमा उल्लेख छ ।
