दमक/  नेपाली कांग्रेस दमक नगर समितिले बर्षेनी गर्दै आएको वनभोज कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ । यो बर्ष पनि २७ पुषमा वनभोजसंगै समसामयिक राजनीतिक परिवेशमा कांग्रेसको भुमिकाका बिषयमा कार्यकर्ताहरुबीच अन्तरक्रिया तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ ।
कांग्रेस दमकका नगर सभापति रोशन विष्टका अनुसार यो बर्ष पनि कांग्रेसले अघिल्ला बर्षहरुमा जस्तै दमकको कृष्णमन्दिरस्थित भट्टराई कूल वंश प्रतिष्ठान परिसरमा पार्टी नेता , कार्यकर्ता, भातृ संघ, शुभेच्छुक संघ संस्थाहरुको समेत सहभागितामा पुर्नःमिलन कार्यक्रम आयोजना गरेको हो ।
कांग्रेस केन्द्रिय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्य र झापा सभापति उद्धव थापा र पूर्व जिल्ला सभापति पूर्णानन्द शर्माको विशेष आतिथ्यमा हुने सो कार्यक्रम सम्पन्न गर्न पार्टीले कांग्रेस नगर सचिव प्रकाश प्रसाइँको संयोजकत्वमा ९ सदस्यीय तयारी एवं व्यवस्थापन समिति गठन गरेको छ । समितिले कार्यकर्ताहरुको व्यापक सहभागितामा सो कार्यक्रम सम्पन्न गर्ने योजना अनुरुप पार्टी नेताहरुसंगै राष्ट्रिय कलाकार जुनु प्रसाइँसहित चर्चित कलाकारहरुको विशेष प्रस्तुति समेत राख्ने तयारी गरेको छ । त्यस अघि कांग्रेसले दमकमा यही पुष २५ गते सरकारको असंबैधानिक कदम र भ्रस्टाचारको विरोधमा प्रदर्शन गर्ने तयारी समेत गरेको सचिव प्रसाइँले बताए ।

Facebook Comments