दमक/  नेपाली कांग्रेसले आज (शनिबार) एकैसाथ देशभरका सबै स्थानीय तहमा संसद विघटन र सरकारका सबै खाले भ्रष्टाचार र मनपरी तन्त्रका विरुद्ध विरोध प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले सरकार विरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन ।
कांग्रेसले झापाको क्षेत्र नं ५ अन्तर्ग दमक, कमल, गौरादह र गौरीगञ्जमा आज आयोजना हुने विरोध प्रदर्शनमा सहभागिताका लागि वडातहमा पार्टी प्रतिनिधिहरु मार्फत कार्यकर्ताहरुलाई सर्कुलर गरेको छ । झापा क्षेत्र नं ५ अन्तर्गतका सबै पालिकाहरुमा पार्टीको सर्कुलर अनुसार कार्यकर्ताहरु एक ढिक्का भएर सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुने क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।
कांग्रेस दमक नगर सभापति रोशन विष्टले नगरका सबै वडाबाट विरोध प्रदर्शनमा सहभागिताका लागि प्रतिनिधिहरु खटिएको बताए । नगर परिक्रमापछि दमकको गणतन्त्र चोकमा विरोध सभा गरिने बताइएको छ ।
कांग्रेस कमल गाउँ सभापति खगेन भण्डारीले कमल गाउँपालिकाको पालिकास्तरीय विरोध प्रदर्शनपछि केरखा बजारमा सभा गरिने तयारी गरिएको जानकारी दिएका छन । त्यसैगरी शिवसताक्षीमा पनि विरोध प्रदर्शनका लागि कार्यकर्ताहरु खटिएका जनाइएको छ ।
यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

Facebook Comments Box